काठमाडौं । घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।
कराँचीमा बिहीबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि अर्धशतकीय इनिङ्स खेलेका मोहमद रिजवानले ८७ रनको योगदान दिए ।
यस्तै कप्तान बाबर आजमले ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।
फखर जमान १२ रनमा आउट हुँदा आसिफ अली २१ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका ओडिन स्मिथ,रोमारियो र डोमिनिक ड्राकेसले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान निकोलस पुरनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शाम्रह ब्रुक्सले ४९ रन जोड्दा ब्राण्डन किङले ४३ रन बनाए । डरेन ब्राभो ३४ रनमा अविजित रहे ।
पाकिस्तानका मोहमद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले ६३ रनको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको थियो ।