काठमाडौं । भारतीय क्रिकेटमा पनि कप्तानीलाई लिएर चर्को विवाद हुने गर्छ ।
पछिल्लो विवाद त झन पो भर्खर भर्खरको हो । विराट कोहलीको एक भनाइलाई लिएर यो पछिल्लो विवाद सुरु भएको हो ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले भनेको छ, कोहली टेस्ट टिमका मात्र कप्तान हुनेछन्, वान डे र ट्वान्टी ट्वान्टी क्रिकेटका कप्तान भने रोहित शर्मा हुनेछन् ।
ट्वान्टी ट्वान्टी विश्वकप सकिएयता कोहलीले अब आफू ट्वान्टी ट्वान्टी टिमको कप्तान छाड्ने बताएका थिए ।
तर बीसीसीआईले उनीबाट ट्वान्टी ट्वान्टीको कप्तानी मात्र खोसेन, वान डे टिमको पनि कप्तानी खोस्यो ।
कोहली भन्छन्, ‘कोही कसैले पनि मलाई यसबारे एक शब्द भनेन्, सोध्ने त परको कुरा ।’
यहाँनिर विवाद किन पनि भएको छ भन्दा बीसीसीआईका अध्यक्ष शौरभ गांगुलीले केही समय अगाडि भनेका थिए, ‘हामीले कोहलीलाई ट्वान्टी ट्वान्टी टिमको कप्तानी नछाड्न अनुरोध गरेका थियौं ।’
अब कोहली भन्छन्, यस्तो केही पनि भएको छैन् । सुरुमा भनिएको थियो, कोहली र रोहितबीच मतभेद छ । अब कोहली र गांगुलीबीच पनि मतभेद देखिएको छ ।
तर भारतीय क्रिकेटका लागि भने कप्तानीलाई लिएर यो नयाँ विवाद होइन, यसको लामो न लामो सूची बन्छ ।
यसका लागि सन् १९७५ पुग्नु पर्छ, जति बेला टेस्ट कप्तान मन्सुर अलिलाई हटाएर फारुख इन्जिनियरलाई नेतृत्व दिइएको थियो । सन् १९८५ मा पनि यस्तै विवादबीच सुनिल गावस्करले कप्तानी छाडे ।
सन् २००७ मा राहुल द्रविडले पनि कप्तानीबाट बिदा लिए । अझ यस्तै विवाद सचिन तेन्दुलकरलाई लिएर पनि छ । मुख्य प्रश्न किन हुन्छ त भारतीय क्रिकेटमा कप्तानीलाई लिएर विवाद ।
यसको उत्तर सिधा सिधा स्पष्ट छ । यो शक्तिको लडाई हो । क्रिकेटमा कप्तान शक्तिशाली र महत्त्वपूर्ण हुन्छ, त्यसैले त यस पदमा सबैको नजर हुन्छ ।
–बीबीसीको सहयोगमा ।