काठमाडौं । एसीसी यू–१९ एसिया कप युनाईटेड अरब इमिरेट्स (युएई)मा डिसेम्बर २३ बाट सुरु हुँदैछ ।
प्रतियोगिता अन्तर्गत नेपालको युवा टोली समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेतसँगै रहेको छ ।
यसको अर्थ नेपालले टेस्ट राष्ट्रहरु बंगलादेश र श्रीलंकासँग समूह चरणमै खेल्ने छ ।
एक हिसाबले हेर्ने हो भने एसिया कप नेपाली युवा खेलाडीहरुका लागि विश्वकपपछि कै ठूलो प्रतियोगिता हो । किनभने नेपालले बलिया टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्छ ।
समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट राष्ट्रहरु जस्तै भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्ने छ ।
प्रतियोगितामा टेस्ट राष्ट्रहरुसँग प्रतिस्पर्धामा उत्रिए पनि नेपालको लक्ष्य भने सेमिफाइसम्मको यात्रा तय गर्नु रहेको छ ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक वसन्त शाही ठकुरी टोलीको लक्ष्य कम्तिमा पनि सेमिफाइनल प्रवेश गर्नु रहेको बताउँछन् ।
तर उनले प्रशिक्षणका लागि समय कम पाएका छन् र पाएको समयलाई नै सदुपयोग गर्ने मानसिकता बनाइसकेका छन् ।
‘समय त धेरै छैन तर छोटो समयलाई नै सदुपयोग गर्दै राम्रैसँगै तयारी गरिरहेका छौ,’ शाहीले भने ।
नेपाली टोलीले गत शुक्रबारबाट मात्रै औपचारिक तयारी थालेको थियो र पुस ३ गतेसम्म अभ्यास गर्नेछ । केवल ९ दिनको तयारी गर्ने मौका पाउनेछ ।
तर हालै सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरुले कम्तिमा पनि ६ खेल खेल्न पाएका कारण तयारीमा सहयोग पुगेको शाहीको भनाई छ ।
टिममा नितान्त युवा खेलाडीहरु रहेका कारण टिम सन्तुलित रहेको मुख्य प्रशिक्षक शाहीको ठम्याइ छ ।
‘यस अघिका टिममा अनुभवी खेलाडीहरु समावेश भएका हुन्थे । टिममा सिनियर टोलीका केही खेलाडीहरु तथा अनुभव बटुलिसकेका खेलाडीहरु हुन्थे । तर अहिलेको टोली नितान्त युवा टोली हो । यसको सकारात्मक पक्ष भनेको युवाहरुमा बढी जोस र जागर हुन्छ, खेल मैदानमा लडेर खेल्छन्,’ शाही बताउछन् ।
शाहीको चिन्ता भने उनीहरुसँग त्यति अनुभव नहुनु हो । केवल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलाडीहरुले धेरै खेल्न पाए, त्यसले मात्र उनलाई हौस्याएको छ ।
यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडीहरु टिममा रहेका कारण प्रशिक्षक शाहीलाई यस पटक ब्याटिङको चिन्ता त्यति छैन, तर खेलाडीको फिटनेश र बलिङमा अझै सुधार गर्नुपर्ने उनलाई लागेको छ ।
‘ब्याटिङ बलियो छ । बलिङमा मेहनत गर्नुपर्नेछ । साथै यो टिमको सुधार गर्नुपर्ने पक्ष भनेको फिटनेश लेभल हो । फिटनेश लेभलमा काम गरिरहेका छौ । प्रतियोगिता अघि सबै कमिकमजोरी ठिक हुने अपेक्षा छ,’ उनले भने ।
उनका अनुसार सहभागी टिम टेस्ट राष्ट्रहरुबाट भएपनि प्रतियोगितामा उनीहरुलाई केवल एउटा टिमको रुपमा लिने र जित्ने प्रयास नेपालको रहने छ ।
‘टेस्ट राष्ट्रको क्रिकेट विकास ग्रासरुटबाटै राम्रो भएको हुन्छ र उनीहरुसँग नेपाललाई दाज्न त मिल्दैन तर युवा टोली भएकोले हामी टेस्ट देश भन्दा पनि एउटा टिम हो भनेर खेल्ने र जित्ने प्रयास गर्नेछौ,’ शाहीले भने ।
अर्कोतर्फ कप्तानका एक दावेदार देव खनाल भने नेपाली टोलीको तयारीबाट उत्साहित भएका छन् र प्रतियोगिता नै जित्ने लक्ष्य राखेका छन् ।
‘लक्ष्य भनेको त प्रतियोगिता जित्ने नै राखेको भएपनि राम्रो खेल्ने प्रयास गर्ने हो । तयारी पनि त्यही अनुसारको भइरहेको छ,’ खनालले भने ।
खनालले प्रतियोगितामा टेस्ट राष्ट्रहरुसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छन् । साथै टेस्ट खेल्ने टिमलाई पराजित गरेर नेपाललाई गौरवान्वित बनाउने लक्ष्य छ ।
‘बंगलादेश र श्रीलंका टेस्ट राष्ट्र भएपनि नेपालले पनि राम्रै खेल्दै आइरहेको छ । हामी सबैलाई राम्रो चुनौती दिनेछौ र प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । बंगलादेश, श्रीलंकासँग पहिला पनि राम्रो नजिता आएको छ र त्यसलाई निरन्तरता दिने र अझै राम्रो गर्ने लक्ष्य छ ।’
नेपालको तीनवटै पक्षहरु–ब्याटिङ, बलिङ र फिल्डिङ–राम्रो भएको कारण प्रतियोगितामा राम्रो नतिजा आउनेमा खनाल आशावादी छन् ।
समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध डिसेम्बर २३ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ तथा समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ।