काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि दोस्रो पटक मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका पुबुदु दासानायकेले आफू नेपाल फर्कन पाउँदा निकै उत्साहित रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले दासानायकेलाई दोस्रो पटक मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि प्रतिक्रिया दिदै दासानायकेले नेपाल फर्कन पाउँदा निकै उत्साहित रहेको बताए ।
‘नेपाल फर्कन पाउँदा निकै उत्साहित छु,’ दासानायकेले खेलपाटीलाई भने ।
उनले नयाँ चुनौतीहरुको प्रतिक्षामा रहेको समेत बताए ।
‘नयाँ चुनौतीहरुको प्रतिक्षामा छु,’ दासानायकेले थपे ।
क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।