काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
‘दासानायकेलाई हामीले प्रशिक्षकमा नियुक्त गरिसकेका छौ । यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत आज शुक्रबार जानकरी गराएका हौ,’ क्यानका एक उच्च स्रोतले खेलपाटीलाई बताए ।
उनका अनुसार अब क्यानको बोर्ड बैठक बसेर दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको निर्णय अनुमोदन गर्नेछ ।
यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।