काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।
क्यान स्रोतका अनुसार नेपालका पूर्व मुख्य प्रशिक्षक दासानायकेलाई पुनः नियुक्ती गर्ने तयारी भएको छ ।
तर अन्तिम टुंगो भने अझै लागेको छैन ।
‘दासानायकेलाई नियुक्ती गर्ने सम्भावना बलियो छ । तर अन्तिम टुंगो भने लागेको छैन । अझै धेरै प्रक्रियाहरु पुरा गर्नुपर्नेछ,’ स्रोतले खेलपाटीलाई भन्यो ।
नेपालले सन् २०२२ को सुरुआतमै आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको खेल्ने तालिका रहेकाको अवस्थामा नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।