काठमाडौं । पाकिस्तानले बंगलादेशविरुद्धको दुई टेस्ट क्रिकेट सिरिज क्लिनस्विप गरेको छ ।
घरेलु टोली बंगलादेशलाई एक इनिङ्स र आठ रनले पराजित गर्दै पाकिस्तानले सिरिजमाथि कब्जा जमाएको हो ।
पाकिस्तानले पहिलो टेस्ट ८ विकेटले जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्स नै ४ विकेट गुमाएर ३ सय रन बनाउदै समाप्तीको घोषणा गरेको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७६ रन तथा अजहर अलीले ५६ रनको योगदान गरेका थिए ।
मोहम्मद रिजवान ५३ तथा फवाद आलम ५० रनमा अविजित रहे ।
बंगलादेशका लागि तैजुल इस्लामले सर्वाधिक २ विकेट लिदा खालेद अहमद र इबादत होसेनले एक–एक विकेट हात पारेका थिए ।
तर जवाफमा भने बंगलादेशले पहिलो इनिङ्समा खराब प्रदर्शन गरेको थियो ।
बंगलादेश केवल ८७ रनमा अलआउट भएपछि फलोअनमा परेको थियो । बंगलादेश पहिलो इनिङ्समा २ सय १३ रनले पछि परेको थियो ।
सकिब अल हसनले सर्वाधिक ३३ रन जोडेका थिए ।
पाकिस्तानका साजिद खान एक्लैले ८ विकेट हात पार्दा शाहिन शाह अफ्रिदीले एक विकेट लिएका थिए ।
फलोअनमा परेको बंगलादेशले दोस्रो इनिङमा २ सय ५ रनमात्र जोड्न सकेपछि ठूलो हार ब्योहोर्यो ।
बंगलादेशका सकिव अल हसनले सर्वाधिक ६३ रन जोडे भने लिटन दासले ४५ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न साजिद खानले ४ विकेट हात पारे ।
शाहिन शाह अफ्रिदी र हसन अलीले समान दुई–दुई विकेट लिए ।