काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त सदस्य सचिव घिसिङले मंगलबार राखेप पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार अघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
सदस्य सचिवको पदभार गरेपछि बोल्दै घिसिङले आफुले दुई निर्णय गरेको बताए । उनले राष्ट्रिय टिमको तयारी र खेलाडीको वीमाबारे निर्णय गरेको जानकारी गराए ।
'भर्खरै मैले दुई वटा निर्णयहरु गरेको छु । यो थालनी हो सुरुआती हो,' सदस्य सचिव घिसिङले भने, 'राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको थियो त्यसलाई सुचारु गर्ने र खेलाडीलाई बीमा गर्ने ठोस नीति कार्यक्रम नभएकोले यसलाई अगाडी बढाउने निर्णय गरेको छु ।'
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य सचिवको निर्णय गरेको हो ।
खेलकुद मन्त्री गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पेश गरेको थियो ।
माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका पूर्व अध्यक्ष घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरिएको थियो ।