काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भोलि (सोमबार)नै नियुक्त गर्ने तयारी गरेको छ ।
सदस्य सचिवमा निवेदन दिएका १८ जनाको कार्ययोजना सहित अन्तरवार्ता गरेको मन्त्रालयले सोमबारनै नियुक्ति प्रक्रिया सम्पन्न गर्ने गृहकार्यका साथ काम अघि बढाएको छ ।
सदस्य सचिव सिफारिस गर्न गठित समितिले आईतबारनै तीन जनाको नाम खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष बुझाउने तयारी गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐनको दफा १७ को ३ अनुसार खेलकुद मन्त्री गहतराजले सदस्य सचिव सिफारिसका लागि सचिव नेतृत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ रहने गरि तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए ।
समितिले सात दिनको म्याद राखेर मंसिर ४ गते सदस्य सचिवको खुल्ला दर्खास्त आह्वान गरेको थियो ।
शुक्रबार अन्तिम दिनसम्म १८ जनाले सदस्य सचिवका लागि निवेदन दिएका थिए ।
सदस्य सचिव सिफारिस समितिले निवेदन दिएका १८ जना निवेदकलाई आईतबार मन्त्रालयमा बोलाएर कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो ।
मन्त्रालयका सचिव दामोदर रेग्मी संयोजकत्वको समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले सदस्य सचिव नियुक्तिकालागि सिफारिस भएका ब्यक्तिको सूची मन्त्रिपरिषदमा लैजानेछ । ऐन अनुसार मन्त्रीपरिषद् बैठकले उपयुक्त व्यक्तिलाई राखेपको सदस्य सचिव पदमा नियुक्त गर्नेछ ।
मन्त्रालय स्रोतका अनुसार सोमबारको मन्त्रीपरिषदको नियमिति बैठकमा खेलकुद मन्त्री गहतराजले तीन जनाको नाम लैजाने तयारी गरेका छन् ।
सोही अनुसार सिफारिस समितिले आईतबारनै तीन जनाको नाम मन्त्रालयमा बुझाउने गरि गृहकार्य गरिरहेको छ ।