काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. १ ले लगातार दोस्रो जित हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै प्रदेश १ ले दोस्रो जित दर्ता गरेको हो ।
प्रदेश १ ले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली ३८ ओभरमा अलआउट हुदै १ सय ६३ रन मात्र जोड्न सक्यो ।
कर्णालीका लागि रुपक दाहालले सर्वाधिक ४१ रन जोड्दा मनिस थापाले ३९ रनको योगदान गरे ।
कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का श्रवण किस्कुले सर्वाधिक ४ विकेट लिए ।
लभ कामतले ३, गौरव कटुवालले २ र दिपेश कँडेलले १ विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय ३९ रनको योगफल तयार पारेको थियो ।
प्रदेश १ का लागि विवेक आनन्द मेहताले सर्वाधिक ५३ रनको योगदान गरे । ८२ बल खेल्दा मेहताले ५ चौका र २ छक्का प्रहार गरे ।
अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ तथा दिपक जोशीले २३ रन जोडे ।
कर्णालीका लागि अनुज कुमार चनारा, रुपक दाहाल र सान्दीप जंग शाहीले समान दुई–दुई विकेट हात पारे ।
प्रकाश जैसी र सुवास ऐयरले एक–एक विकेट लिए ।
यस अघि प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।