काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले विजयी सुरुआत गरेको हो ।
सुदुरपश्चिमले दिएको २ सय ९१ रनको लक्ष्य प्रदेश २ ले निर्धारित ५० ओभरको अन्तिम ५ बल बाकी छदा ८ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश २ लाई जित दिलाउन आदिल अन्सारीले अविजित ८७ रनको इनिङ्स खेले । अन्सारीले ४३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे ।
२ सय १४ रनमा आठ विकेट गुमाएको प्रदेश २ लाई जित दिलाउन अन्सारीले प्रदिप पासवानसँग नवौ विकेटका लागि ७८ रनको साझेदारी गरे ।
पासवानले २५ बल खेल्दै ९ रन जोडे ।
प्रदेश २ का लागि अमित यादवले सर्वाधिक ४९ रन तथा गुल्सन झाले ४६ रन बनाए ।
रोहन विकले २३ तथा सन्तोष कार्कीले २१ रन जोडे ।
सुदुरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले समान तीन–तीन विकेट हात पारे ।
हेमन्त धामी र लोकेश वमले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले अर्जून साउदको शतकको सहयोगमा ४१ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ९० रनको योगफल तयार पारेको थियो ।
सुदुरपश्चिमका लागि साउदले ८५ बलमा १ सय १६ रनको योगदान गरे । साउदले १४ चौका र ५ छक्का प्रहार गरेका थिए ।
जारी प्रतियोगितामा शतक प्रहार गर्ने साउद पहिलो खेलाडी बनेका छन् ।
त्यसैगरी, लोकेश वमले ८१ रनको योगदान गरे । वमले ७३ बलको सामना गर्दा १३ चौका र एक छक्का हिर्काए ।
नरेश भट्टले ३० र वशन्त कार्कीले २७ रन जोडे ।
प्रदेश २ का लागि प्रदिप पासवानले सर्वाधिक तीन विकेट हात पारे । विवेक यादव र अजय यादवले दुई–दुई विकेट लिए ।
आदिल अन्सारी र तृत राज दासले एक–एक विकेट चट्काए ।