काठमाडौं । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ ।
गाले इन्टरनेशनल स्टेडियममा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो ।
दोस्रो इनिङ्समा जितका लागि ३ सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले केवल १ सय ६० रन जोड्न सक्यो ।
वेस्ट इन्डिजका लागि नकरुमाह वोनरले अविजित ६८ तथा जोसुआ डा सिल्भाले ५४ रन जोडे ।
वेस्ट इन्डिजको इनिङ्स धराशायी बनाउन श्रीलंकाका लासिथ इम्बुल्डेनियाले सर्वाधिक ५ विकेट तथा रमेश मेन्डिसले ४ विकेट हात पारे । प्रविन जयाविकरामाले एक विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा श्रीलंकाले कप्तान दिमुथ कारुनारत्नेको १ सय ४७ रनको मदतमा ३ सय ८६ रन जोडेको थियो ।
वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक ५ विकेट लिएका थिए ।
जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ३० रनमात्र जोड्न सकेको थियो ।
वेस्ट इन्डिजका लागि कायल मेयर्सले सर्वाधिक ४५ रन जोडेका थिए ।
श्रीलंकाका प्रविन जयाविकरामाले ४ तथा रमेश मेन्डिसले ३ विकेट लिएका थिए ।
दोस्रो इनिङ्स श्रीलंकाले १ सय ९१ रन जोड्दै ४ विकेट गुमाएपछि इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
त्यसपछि वेस्ट इन्डिजले ३ सय ४८ रनको लक्ष्य पाएको थियो ।
दुई खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।