काठमाडौ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध नेपालले २८ रनको लक्ष्य पाएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोड्यो ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन ।
कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे ।
करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।
ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपालमाथि आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दवाव छ ।
नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।
नेपालले यस अघि कुवेतलाई सन् २०१९ मा भएको खेलमा ३० रनले पराजित गरेको थियो । र आज पनि त्यस जितलाई कायमै राख्ने दाउमा रहेको छ ।