काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि शानदार जित हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज मंगलबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको २४ रनको झिनो लक्ष्य लुम्बिनीले ५ ओभर ५ बलमा केवल एक विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीका लागि देव खनालले अविजित १८ रन जोडे । उनले २० बल खेल्दा चार चौका प्रहार गरे ।
विराट भण्डारी ८ रनमा अविजित रहे । ओपनर आकाश त्रिपाठी भने शुन्य रनमै शुवास भण्डारीबाट बोल्ड भए ।
यस अघि पहिले ब्याटिङ गरेको गण्डकी १४ दशमलब २ ओभरमा अलआउट हुदै केवल २३ रनको झिनो योगफल तयार पार्न सक्यो ।
गण्डकीका लागि अर्जून कुमालले सर्वाधिक ६ रन तथा विष्णु पाण्डेले ५ रन जोडे ।
गण्डकीका ७ खेलाडीले रनको खाता खेल्न सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्न लुम्बिनीका मोहम्मद हुसेनले सर्वाधिक सात विकेट हात पारे । म्यान अफ द म्याच घोषित भएका हुसेनले सात ओभरमा एक मेडन फाल्दै जम्मा १४ रन खर्चिए ।
दुर्गेश गुप्ता र वासिर अहमदले एक–एक विकेट हात पारे ।