काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी योजना अनुसार अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
आईसीसीले गत हप्ता पाकिस्तानलाई च्याम्पियन्स ट्रफी आयोजना गर्ने अधिकार प्रदान गरेको थियो ।
पाकिस्तानले सन् १९९६ को विश्वकप पछि कुनै पनि प्रतियोगिता आयोजना गर्न पाएको छैन ।
सुरक्षा चुनौतीका कारण पाकिस्तानले सन् २०११ को विश्वकप आयोजना गर्ने अधिकार पाउनबाट बञ्चित भएको थियो ।
पछिल्लो पटक न्यूजिल्यान्ड र इंग्ल्यान्डले पाकिस्तानको भ्रमण रद्द गर्नुका साथै भारतीय खेलकुद मन्त्री अनुराग ठाकुरको भनाईपछि पाकिस्तानमा हुने क्रिकेट प्रतियोगितालाई लिएर शंका उत्पन्न हुने गरेको छ ।
आईसीसीका अध्यक्ष ग्रेग बार्कलीले प्रतियोगिताका लागि अन्य देश पाकिस्तान आउनेमा विश्वस्त रहेको बताए ।
सन् १९९६ को एकदिवसिय विश्वकपपछि पाकिस्तानमा सन् २००८ मा च्याम्पियन्स ट्रफी आयोजना हुने तय भएपनि सुरक्षा चुनौतीका कारण स्थगित भएको थियो ।
सन् २००९ मा श्रीलंकाको क्रिकेट टिममाथि आक्रमण भएपछि च्याम्पियन्स ट्रफी दक्षिण अफ्रिका सारिएको थियो ।
साथै सन् २०११ मा एकदिवसिय विश्वकप आयोजना गर्ने अधिकार समेत पाकिस्तानले गुमाएको थियो ।
तर पछिल्लो समय वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, जिम्वावे, दक्षिण अफ्रिका तथा विश्व–११ टिमले पाकिस्तानको भ्रमण गरिसकेका छन् ।