काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले टस गुमाउनुनै हङकङविरुद्धको हारको महत्वपुर्ण कारणको रुपमा ब्याख्या गरेका छन् ।
विश्वकपको एसिया छनोटको पहिलो खेलमा हङकङसँग पराजित भएपछि मुख्य प्रशिक्षक टमाटाले पराजयको मुख्य कारण टस गुमाउनुलाई मानेका छन् ।
‘टस महत्वपुर्ण थियो । विकेट विहान राम्रो थियो । यस्तो घाँसे विकेटमा हामीले कम खेलेका छौं । टसका कारणनै मुख्य मान्छु ।’ खेलपछि उनले भने ।
दुबईमा आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ औं ओभरमा पुरा गरेको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो । नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडेकी थिईन् ।
इन्दु वर्माले ३१ रनमा अविजित रहिन् । अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेको थिएन ।
‘ब्याटिङ्गमा राम्रो सुरुवात गरेको थियौं । समग्रमा १५–२० रन कम बनायौं ।’ टमाटाले भने, ‘बलिङ हाम्रो बलियो पक्ष थियो । तर स्पिनरले काम गरेन ।’
प्रशिक्षक टमाटाले नेपालले हङकङविरुद्ध राम्रो क्रिकेट खेल्न नसकेको बताए ।
नेपालले दोस्रो खेलमा भुटानविरुद्ध मंगलबार खेल्नेछ ।