धनगढी । धनगढीमा माघ दोस्रो साता सुरु हुने लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को हस्पिटालिटी पार्टनर होटेल डिभोटी रहने भएको छ ।
प्रतियोगिताको 'लजिङ्ग एण्ड फुडिङ्ग' पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटीका तर्फबाट सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिहले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
धनगढीमा सुदूरपश्चिम प्रदेशमै होटेल क्षेत्र मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको डिभोटीले उमेर समूहको क्रिकेट उत्थानका लागि हातेमालो गरेकोमा अध्यक्ष शाहीले हस्ताक्षर गर्दै धन्यवाद ज्ञापन गरे ।
होटेल डिभोटीले पछिल्लो समय विभिन्न अफरमार्फत ग्राहकको सेवालाई थप परिष्कृत गर्दै आएको छ ।
म्यानेजर सिंहका अनुसार प्रत्येक शुक्रबार म्युजिकल नाइटसहित ८ सयमा अन लिमिटेड खानाका परिकार, विद्यार्थीका लागि अन्य ग्राहक भन्दा ३० प्रतिशत कम लागतमा बर्थडे पार्टी तथा अन्य खानाका परिकार र ग्रुप अफर पनि सञ्चालनमा ल्याएको छ ।
प्रतियोगितामा देशभरका १० विद्यालयको सहभागिता रहने शाहीले बताएका छन् ।
जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।
यस्तै, सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ ।