काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मनाङ मर्स्याङ्दीले आफ्नो पहिलो खेलमा जावलाखेलको सामना गर्दैछ ।
आठ पटकको कीर्तिमानी च्याम्पियन मनाङ मर्स्याङ्दीविरुद्ध जावलाखेल अधिकांस समय संघर्ष गर्ने गर्छ ।
कम्तीमा लिगका पछिल्ला पाँच खेलले यही देखाउने गर्छ । यी पछिल्ला पाँच खेलमा मनाङ चार पल्ट विजयी रहेको छ ।
यी सबै खेलमा उसले क्लिन सिट राखेको छ । खालि एक खेल भने बराबरीमा टुंगेको छ । वर्ष ०६८ मा मनाङले जावलाखेललाई १–० ले हराएको थियो ।
वर्ष ०६९ मा भने जावलाखेलले १–१ को बराबरी निकालेको थियो । त्यस खेलमा जावलाखेल एक गोलले पछाडि रहेको स्थितिमा ८९ औं मिनेटमा जुमान डेलीले बराबरी गोल फर्काएका थिए ।
त्यसयताका तीन खेलमा जावलाखेलले मनाङविरुद्ध कुनै गोल गर्न सकेको छैन ।
जावलाखेलविरुद्ध मनाङ वर्ष ०७० मा ३–०, वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा पनि १–० ले विजयी रहेको छ । त्यस अर्थमा मनाङविरुद्ध जावलाखेलले लिगका पछिल्ला २ सय ७१ मिनेटमा कुनै गोल गर्न सकेको छैन ।
यी सबै पृष्ठभूमिमा मनाङले फेरि एक अर्को जित र क्लिनसिटका लागि खेल्नेछ, तर जावलाखेलको उद्देश्य पक्कै पनि यसमा बाधा पुर्याउनु नै हुनेछ ।
मनाङ वर्ष ०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२, ०७० र ०७५ को लिग विजेता हो ।
जावलाखेलले भने अहिलेसम्म लिग उपाधि जित्न सकेको छैन ।