काठमाडौं । ललितपुरे क्लब थ्री स्टारले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० ले हराउँदै थ्री स्टारले विजयी सुरुआत गरेको हो ।
पहिलो खेलमै जित निकालेपछि थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ खुशी देखिए । उनले विपक्षी टिमको एक पेनाल्टी रोकेपछि खेलमा जित निकाल्न सहज भएको समेत बताए ।
'पहिलो खेल थियो । सुरुमा केहि गार्हो पनि भयो । पेनाल्टी सेभ भएपछि हामीलाई अलिकति सजिलो भयो । गोलहरु निस्कियो,' उनले भने ।
थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।
तर, च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लिया पेनाल्टीमा चुकेका थिए । उनको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएका थिए ।
प्रशिक्षक उर्जनले टिमको अग्रपंक्ति अझै कमजोर रहेको बताए ।
'स्ट्राईकिङमा चुकिरहेका छौ । आज सबै गोल डिफेन्डरले निकाल्यो । आगामी खेलमा अझ मेहेनत गर्छौ,' उनले थपे, 'यो जितले केहि सजिलो भएको छ। अझै राम्रो गर्दै जान हौसला मिल्छ।'
च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल शाहुखलले पहिलो खेलमा हार व्यहोर्ने कुरा नसोचेको बताए ।
'पहिलो खेल थियो । हाम्रो केटाहरुले राम्रो नै खेलेको थियो । हामी बलियो टिम थियो। हार बेहोछौं भन्ने सोचेको थिएन,' उनले भने ।
यस्तै शाहुखलले खेलमा रेफ्री प्रकाश नाथ श्रेष्ठको आलोचना गरे।
' रेफ्रीले आफ्नो गुणस्तर सुधार गर्नुपर्छ। रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ,' उनले भने, 'जबसम्म रेफ्रीको स्तर बढ्दैन फुटबलको स्तर बढ्दैन ।'