काठमाडौं । ललितपुरको थ्री स्टार क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।
थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।
'सेट पिस' मा बलियो देखिएको थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो ।
खेलको २२ औं निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।
यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गरे ।
खेलको २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
'ए' डिभिजन लिगमा विकासको यो डेब्यु खेल हो ।
थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
४४ औं मिनेटमा थ्री स्टारले २-० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाए । हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।
जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ ।
च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए ।
लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् ।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।