काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० गोलको अग्रता बनाएको छ ।
थ्री स्टारका निशान खड्का र राफायल बिडीयास रिमले एक एक गोल गरे ।
खेलको २२ औं निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।
यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गरे ।
यस्तै खेलको २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ४४ औं मिनेटमा थ्री स्टारले २-० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए ।