काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।
यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।
सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो ।
मन्त्रीपरिषद्को बैठकले सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गरेको हो ।
सिलवाललाई बर्खास्त गरेसँगै मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।
समितिमा कमला ज्ञवाली र हरीबहादुर श्रेष्ठ छन् ।