काठमाडौं । ललितपुरमा सबैभन्दा लोकप्रिय क्लब कुनै छ भने त्यो थ्री स्टार हो ।
सायद अहिले यसमा केही कमी आएको छ र यसको कारण हो, यो क्लबका समर्थकहरूको एउटा बाक्लो हिस्सा अन्यत्र मोडिएको छ । त्यो भनेको च्यासल नै भयो ।
च्यासलको आफ्नै 'ए' डिभिजन क्लब भएपछि यसका स्थानीयले त्यसैलाई समर्थन गर्नु स्वभाविक पनि हो ।
यिनै दुई नजिकका ललितपुर क्लब शनिबार सहिद स्मारक लिग 'ए' डिभिजनको दोस्रो खेलमा भिड्दै छन् । च्यासलले ०७५ देखि मात्र माथिल्लो डिभिजन खेल्न सुरु गरेको हो ।
थ्री स्टारको छायामा रहेको च्यासल त्यसबाट मुक्त हुने प्रयासमा रहनेछ, तर अहिलेसम्म यो क्लबले थ्री स्टारलाई लिगमा हराउन सकेको छैन्।
थ्री स्टारले दुई पल्ट मात्र च्यासलको सामना गरेको छ । त्यसमध्ये वर्ष ०७५ को खेल गोलरहित बराबरीमा टुंगेको थियो भने वर्ष ०७६ मा थ्री स्टार ३–१ ले विजयी रहेको थियो ।
त्यो अर्थमा थ्री स्टार च्यालसविरुद्ध अपराजित छ । थ्री स्टारले भने तीन पल्ट ए डिभिजन लिगको उपाधि जितेको छ, ०५४, ०६१ र ०६९ ।