काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन २०७८ मा शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा भिड्ने छन्।
यो समृद्ध इतिहास भएको क्लबविरुद्ध माथिल्लो डिभिजनमा पाँचौं पल्ट खेलिरहेको क्लबबीचको खेल हुनेछ।
अनि तथ्यांकले देखाउने गर्छ, हिमालयन शेर्पामाथि संकटा लिगमा पूर्णत: हाबी छ।
तीन पल्टको ए डिभिजन च्याम्पियन संकटाले ०३७, ०४० र ०४२ मा सफलता चुमेको हो। संकटाले सहिद स्मारक लिगको सुरुआती इतिहासदेखि खेल्दै आएको विश्वास गरिन्छ।
हिमालयन शेर्पाले भने ०६८ बाट मात्र ए डिभिजन खेल्न थालेको हो। अहिलेसम्म दुई क्लबबीच चार खेल भएकोमा सबैमा संकटा विजयी रहेको छ।
यस्तोमा संकटा यसपल्ट लगातार पाँचौं जितको खोजीमा हुनेछ। संकटाले हिमालयन शेर्पालाई ०६९ मा १–०, ०७० मा २–१, ०७५ मा २–० र ०७६ मा १–० ले हराएको थियो।
संकटा ०६६–०६७ को लिगबाट रेलिगेसन परेको हुनाले ०६८ मा यी दुई क्लबबीच भेट भएन्।
हिमालयन शेर्पाको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भनेको ०६८ को डेब्यु वर्षै पाँचौं स्थानमा आउनु हो।