काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।
शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन ।
खेलको ३३ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेडरले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो ।
५७ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।
दोस्रो हाफमा फ्रेन्ड्सले केहि सुधारिएको प्रदर्शन गर्यो ।
खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।
सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए । तर, उनी अभागी साबित भए ।
खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए ।
खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो ।
खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।
खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच चुनिए ।
यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १/१ अंक पाएको छ ।
लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
के भन्छन् प्रशिक्षक ?
मेघराज केसी - सातदोबाटो (प्रशिक्षक)
हामी ३ अंकको लागि आएका थियौं । खाली हात भएन । पहिलो खेलमा केहि न केहि पायौं ।
प्रदर्शन हेर्दा हामीले ३ अंक पाउनु पर्ने हो । तर, खेलाडीमा अनुभवको कमी देखियो । फ्रेन्ड्सको गोलकिपर राम्रो थियो ।
पहिलो पटक धेरै खेलाडीले लिग खेलेको छ । त्यसैले आत्तिनु पर्ने छैन । खेलाडीले केहि मात्रामा सुधार गर्ने हो भने टिमले राम्रो गर्छ ।
हामीले विपक्षीलाई डोमिनेट गरेको हो । ३ अंक पाएको भए खेलाडीको मोरल हाइ हुन्थ्यो ।
अझै सुधार गरेर आगामी खेलमा आउने छौँ । खेलाडीले अभ्यासको ५० प्रतिशत पनि दिएको छैन । अर्को पटक राम्रो हुन्छ ।
टिमले आफ्नो क्षमता अनुसार खेल्न नसक्दा १/१ अंक बाड्नु पर्यो ।
मृगेन्द्र मिश्र (प्रशिक्षक) फ्रेन्ड्स
जुन तयारी थियो, पहिलो हाफमा खेल्न सकेन । दोस्रो हाफमा राम्रो खेल्यौं ।
तर, हामी अभागी भयौं । पोस्टमा लागेर फर्कियो । केहि गोलकिपरले राम्रो बचायो । १० खेलाडीमा समेत सिमित भयौं ।
आजको खेलमा कप्तान थिएन । उसको बिबाह छ । टिमको कप्तान नहुँदा घाटा भयो, हामीले उसलाई मिस गर्यौं । खेलमा पाँच कार्ड पायौं । खेलाडीलाई सम्झाए पनि अनावश्यक कार्ड खायौं ।
सातदोबाटो नराम्रो टिम हैन । राम्रो टिम हो । नयाँ टिमलाई जोश हुन्छ ।
दुई खेलाडीले डेब्यु गर्यो । हाम्रो लक्ष्य नयाँलाई मौका दिने हो ।
सातदोबाटो सुरुआती-११
दिपक राज सिंह ठकुरी
सुशिल राई
पासाङ लामा
अविशेक बराल
सुदिप गुरुङ
मान बहादुर तामाङ
आकाश बुढा मगर
किरण रावत
पिटर सगुन
सिफामण्डला माथेनज्वा
मार्टिन्स अजयी
फ्रेन्ड्स सुरुआती -११
सुशिल लामा
निसेन सुब्बा
राहुल रामचन्द्र यादव
जमुल एन्थोनी फ्रान्सोइस
नाथानिल जुडे
सुरज विश्वकर्मा
प्रिजेन तामाङ
विकास लामा
अनिल महर्जन
सकल रेग्मी