काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ ।
मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।
मन्त्रालयले बोर्ड सदस्यहरु रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, इन्दिरा निरौला, रिम रानाभाट, गोपाल खनाल र गोबिन्द भट्टराईसँग स्पष्टिकरण माग गरेका हुन् ।
मन्त्रालयले आइतबार स्पष्टिकरण माग गर्दै ९ जना बोर्ड सदस्यलाई पत्र पठाएको हो । बोर्ड सदस्यलाई पठाईएको पत्रमा तीन बुदागत कार्य गर्न नसकेको आरोप लगाईएको छ ।
पत्रमा ऐनको दफा १० उपदफा ४ बमोजिम एक तिहाइ सदस्यले बैठक बोलाउन अध्यक्षसामु लिखित अनुरोध गर्न सक्ने प्रावधान भएपनि खेलकुदको विकास र बिस्तारमा उदासिन देखिएको आरोप लगाईएको छ ।
यस्तै खेलकुद क्षेत्रको विकासमा समर्पित हुनु पर्नेमा कुनै ठोस कार्ययोजना तयार भएको नदेखिएकाले पदीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्रिय खेलकुद परिषदको हितमा योगदान पुर्र्याएको अवस्था नदेखिएको आरोप बोर्ड सदस्यमा लगाईएको छ ।
सबै बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए ।
यस अघि सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले सिलवाललाई पदमुक्त गरेको थियो ।
तर, सरकारको निर्णय विरुद्ध सिलवालले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यस्तै पछिल्लो समय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपका बोर्ड सदस्यले राजीनामा दिन उपयुक्त हुने धारणा राख्दै आएका छन् ।
उनले वर्तमान सरकार फरक राजनीतिक कोर्सबाट निमार्ण भएको उल्लेख गर्दै बोर्ड सदस्यको राजीनामा पर्खिएर बसेको बताएका थिए ।
तर खेलकुद मन्त्रीको आग्रह अनुसार कुनै बोर्ड सदस्यले राजीनामा दिएनन् ।