काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले आगामी दिनमा आफू राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सम्भावना नरहेको बताएका छन् ।
दक्षिण अफ्रिकाले आईसीसी टी–ट्वान्टी विश्वकपका लागि उनलाई टोलीमा राखेको छैन् ।
३४ वर्षीय मोरिसले दक्षिण अफ्रिका क्रिकेट संघलाई समेत आफूले राष्ट्रिय टोलीबाट नखेल्ने मनसायबारे जानकारी रहेको जनाए ।
‘दक्षिण अफ्रिकाका लागि खेल्ने मेरा दिनहरु समाप्त भएको छ । म आधिकारीकरुपमा भने सन्यासको घोषणा गर्ने खालको होइन । उनीहरुलाई थाहा छ म कहाँ उभिएको छु र मलाई पनि थाहा छ म कहाँ छु भनेर,’ मोरिसले भने ।
मोरिसले आधिकारीक रुपमा सन्यासको घोषणा नगर्ने तर आफ्नो अन्तर्राष्ट्रियको समय सकिएको बताए ।
तर उनले घरेलु क्रिकेट तथा टी–ट्वान्टी लिगमा भने ध्यान दिने जनाए ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका मोरिसले दक्षिण अफ्रिकाका लागि ४२ एकदिवसीय, २३ टी–ट्वान्टी र चार टेस्ट खेलेका छन् ।
उनले अन्तिम पटक अन्तर्राष्ट्रिय खेल सन् २०१९ मा एकदिवसीय विश्वकपका दौरान खेलेका थिए ।