काठमाडौं । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो ।
यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ ।
यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन ।
यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको छ ।
भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले ।
रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए ।
रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए ।
भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।
हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए ।
जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।
पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ ।
उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।