काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
यससँगै इंग्ल्यान्डले पहिलो पटक टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ ।
वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे ।
जासन रोय ११ रनमा आउट हुँदा जोनी बेयर्सटोले ९ रन बनाए ।
मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए ।
वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे ।
शिम्रन हिटमायरले ९, कप्तान केइरन पोलार्डले ६, इभिन लेविसले ६ तथा ड्वाने ब्राभोले ५ रन बनाए ।
अकिल होसेन ६ रनमा अविजित रहे ।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।
मोइन अली र टेमल मिल्सले २/२ विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनले १/१ विकेट लिए ।
यस जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूहको शीर्ष स्थानाम रहेको छ ।
वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।