काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आयोजना हुने १३ औं साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ।
यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
भारत साफ च्याम्पियनसिपको इतिहासमा सर्वाधिक सफल टिम हो, उसले सात पल्ट उपाधि जितेको छ । त्यसपछि माल्दिभ्स आउँछ, उसले दुई पल्ट उपाधि जितेको छ ।
यसपल्ट माल्दिभ्स आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । त्यसपछि बंगलादेश र श्रीलंकाले एक एक पल्ट उपाधि जितेका छन् ।
एक पल्टको च्याम्पियन अफगानिस्तानले अचेल साफ च्याम्पियनसिप खेल्दैन् ।
नेपालले अहिले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपालको सर्वाधिक उत्क्रिह्स्त नतिजा सेमिफाइनल पुग्नु हो ।
साफको इतिहासबारे खेलपाटी डटकमले 'नालीबेली' तयार गरेको छ ।
काठमाडौंमा जन्मेको साफ च्याम्पियनसिप
काठमाडौं । दुई संस्करणको सार्क गोल्डकपको आयोजनापछि फेरि एकपल्ट महसुस गरियो, यत्तिको आयोजनाले पुग्दैन् । अझ बढी केही गर्नु पर्छ । अझ भनौं, यसलाई परिस्कृत गर्नु पर्छ ।
यही सोचले तयार भयो, साफ च्याम्पियनसिप । पहिलो संस्करणको साफ च्याम्पियनसिप नेपालमा भएको थियो र हामी भन्न सक्छौं, काठमाडौंमा जन्मेको थियो, साफ च्याम्पियसिप ।
सन् १९९७ मा पहिलो साफ च्याम्पियनसिप भएको थियो । तर अचेल यसका संस्करणबारे गणना गर्दा यसअघिका दुई सार्क गोल्डकप पनि गाभ्ने गरिन्छ ।
त्यो वर्ष काठमाडौंले साफ च्याम्पियनसिपको आयोजना गर्दा पूरा राजधानी फुटबलमय भएको थियो । यसलाई ठूलो प्रतियोगिताको स्वरूप दिन नेपालले कुनै कसर छाडेन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा गणेश थापा आएको केही वर्ष भइसकेको थियो र उनी केही न केही गरिरहने बानीका थिए ।
दक्षिण एसियाली फुटबल महासंघको पनि अध्यक्ष भएपछि त के चाहियो र ? उनले नेतृत्वमा आएको केही वर्षमै साफ च्याम्पियनसिपको सोच अगाडि सारे, अनि नेपालले नै आयोजना गर्ने निर्णय पनि गरे ।
नेपालले त्यस अगाडि दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण सन् १९८४ मा आयोजना गरिसकेको थियो ।
तर दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको भने यही सन् १९९७ मा मात्र हो ।
जसरी दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सोच नेपालको थियो, त्यसरी नै साफ च्याम्पियनसिप आयोजना गर्ने सोच पनि नेपालकै हो ।
भारत पहिलो विजेता
दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबल त सामेल थियो, तर यो आफैमा फुटबलमै मात्र सीमित प्रतियोगिता थिएन् ।
त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।
यो साफ च्याम्पियनसिप सुरु हुन अगाडीको प्रतियोगिता हो । अचेल यसको गणना साफ च्याम्पियनसिपकै रूपमा गरिन्छ ।
सार्क गोल्डकपका नाममा दुई संस्करण भए । त्यसमध्ये पहिलो संस्करण सन् १९९३ मा आयोजना गरिएको थियो र आयोजक देश थियो, पाकिस्तान । प्रतियोगिता त सुरु गर्ने भनियो, तर अन्त्यमा सहभागी संख्या चार मात्र रह्यो ।
त्यसैले यो राउन्ड रोबिनको आधारमा खेलाइएको थियो, यसमा फाइनल थिएन् । लिग चरणको अन्त्यमा भारत सर्वाधिक अंकसहित शीर्ष स्थानमा रह्यो र पहिलो विजेता बन्यो ।
भारतले तीन खेलमा दुई जित र एक बराबरी खेलेको थियो, यसरी उसको सात अंक भयो । भारतपछि श्रीलंका र नेपाल रहे । पाकिस्तान अन्तिम स्थानमा आयो ।
खासमा प्रतियोगितामा एक अर्को टिम पनि थियो, पाकिस्तान ‘ह्वाइट’ का रूपमा । सहभागी टिम कम भएपछि पाकिस्तानले आफ्नो दोस्रो टिम पनि उतारेको थियो र यसले पनि सबै प्रतिद्वन्द्वी टिमविरुद्ध खेलेको थियो । तर यो टिमले खेलेको खेल पनि गणना गरिएको थिएन्, यो खालि अनौपचारिक मात्र रहेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । लगतै श्रीलंकाविरुद्धको खेल पनि गोलरहित बराबरी रह्यो । नेपाल आफ्नो अन्तिम खेलमा भारतको हातबाट १–० ले पराजित रह्यो ।
नेपालका लागि पाकिस्तानविरुद्ध गोल गर्ने खेलाडी थिए, देवनारायण चौधरी । यसरी साफ च्याम्पियनसिपमा इतिहासमा उनी नेपालका लागि पहिलो गोल गर्ने खेलाडी रहे ।
श्रीलंकाली फुटबलको स्वर्णिम काल
श्रीलंकाली फुटबल प्राय: त्यहाँको क्रिकेट अगाडि प्राय: ओझेलमा पर्ने गर्छ । क्रिकेटले त्यहाँको फुटबललाई कतिसम्म चुपचाप रहन बाध्य पारेको छ भने कुनै समय त्यस्तो पनि रह्यो, जति बेला श्रीलंकाली फुटबल शून्यकै स्थितिमा पुग्यो । श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्याएको थियो ।
यी सबैका वावजुत पनि श्रीलंकाली फुटबलले एकाध राम्रै सफलता नपाएको पनि होइन् । सन् १९९५ मा श्रीलंकाले दोस्रो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो र यो त्यही समय हो, जसलाई श्रीलंकाली फुटबलको स्वर्णिम काल थियो भन्ने पनि गरिन्छ । मार्च २५ देखि अप्रिल २ सम्म आयोजित प्रतियोगितामा पाँच टिम सहभागी थिए ।
त्यसलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा थिए, बंगलादेश, नेपाल र माल्दिभ्स । बंगलादेश र नेपालले समूहको शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित रह्यो । पछि नेपालले पाकिस्तानलाई समान २–० ले हरायो ।
नेपालका लागि त्यस खेलमा हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । समूह बी मा रहेको माल्दिभ्सले प्रतियोगिता नखेल्ने भने पछि यसमा खालि दुई टिम मात्र रहे, श्रीलंका र भारत । त्यस खेलको नतिजा बराबरी रह्यो र समूह विजेताका निर्णय टसबाट गरिएको थियो । त्यसमा भाग्यले श्रीलंकाको साथ दियो ।
सेमिफाइनलमा भारतले बंगलादेशलाई हरायो भने श्रीलंकाले नेपाललाई । श्रीलंकाको जित अतिरिक्त समयमा प्राप्त भएको थियो, २–१ को स्कोरमा । नेपालका त्यस खेलमा गोल गर्ने खेलाडी थिए, दीपक अमात्य । फाइनलमा श्रीलंकाले भारतलाई १–० ले हरायो, त्यो पनि अतिरिक्त समयमै प्राप्त जित थियो ।
श्रीलंकाली फुटबलका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी त हो नै, उसले जितेको एक मात्र उपाधि पनि यही हो । श्रीलंकाले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा कहिले पनि स्वर्ण जितेको छैन् । तर सन् १९९५ मा उसलाई सार्क गोल्डकप जित्नबाट कसैले रोक्न सकेन् । सन् २००६ को एक वर्ष छाडेर श्रीलंकाली फुटबल अधिकांस समय कमजोर नै सावित भयो ।
भारतलाई उपाधि, नेपाल सबैभन्दा पछाडि
प्रतियोगिता आयोजना गर्दैमा घरेलु टिमले राम्रो गर्छ भन्ने केही छैन् ।
सन् १९९७ को साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म खेलेका फुटबलका प्रतियोगितामध्ये सबैभन्दा खराब मान्न मिल्नेमा पर्छ ।
प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।
त्यही बेलादेखि त हो, भन्न थालेको, नेपालका लागि साफ च्याम्पियनसिप फाप्दैन् । सेप्टेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा ६ टिम सहभागी थिए र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
'ए' समूहमा नेपालसँग श्रीलंका र पाकिस्तान थिए । नेपालले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–० ले पराजित भयो र दबाबमा आइहाल्यो ।
आफ्नो दोस्रो खेलमा पनि नेपाल श्रीलंकासँग ३–१ ले पराजित भयो । नतिजा नेपाल लिग चरणबाटै बाहिरियो । श्रीलंकाविरुद्ध एक सान्त्वना गोल दीपक अमात्यले गरेका थिए ।
श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगे । अर्को समूह 'बी' मा भारत, माल्दिभ्स र बंगलादेश थिए । भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे।
सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई हरायो भने भारतले पाकिस्तानलाई । दक्षिण एसियाली फुटबलमा माल्दिभ्स शक्ति हुँदैछ भन्ने पहिलो संकेत यही प्रतियोगिताबाट प्राप्त भएको थियो।
माल्दिभ्स कुनै पनि फुटबल प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो अवसर थियो । उपाधिको भिडन्तमा भने भारत नै बलियो सावित भयो र बन्यो, साफ च्याम्पियन ।
नरेशको ह्याट्रिक, भारत फेरि च्याम्पियन
सन् १९९९ को साफ च्याम्पियनसिप आयोजना भएको थियो, भारतमा । पश्चिम बंगालपछि भारतमा कुनै राज्यमा फुटबल लोकप्रिय छ भने त्यो गोवामै हो ।
गोवाको मार्गोमा त्यो वर्षको साफ च्याम्पिनयसिप भएको थियो । जवाहरलाल नेहरु स्टेडियममा भएको प्रतियोगिता फेरि एकपल्ट भारतले नै जित्यो, विना कुनै रोकतोक ।
फाइनलमा भारतले बंगलादेशलाई हराएको थियो । यो त्यो समय थियो, जति बेला भारतीय फुटबलमा वाइचुङ भुटियाको जगजगी चलिरहेको थियो । उनले चार खेलमा तीन गोल गरे ।
बंगलादेशमाथि फाइनलमा प्राप्त २–० जितमा पनि उनले एक गोल गरे । भारतले उपाधि जित्ने क्रममा खासै चुनौती सामना गर्नु परेन् ।
खालि लिग चरणमा मात्र भारतले बंगलादेशसँग लिग चरणमा गोलरहित बराबरी खेलेको थियो । भारत रहेको त्यस समूह ए बाट पाकिस्तान अगाडि बढन् सकेन् ।
नेपालका लागि यो साफ च्याम्पियनसिप खासै उपलब्धीमुलक रहेन् । नेपालको समूहमा माल्दिभ्स र श्रीलंका थिए । श्रीलंका लिग चरणमै रोकियो ।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो र यो खेललाई सम्झने भनेको नरेश जोशीको उपलब्धीलाई लिएर मात्र हो । नरेशले त्यस खेलमा ४, ४१ र ८१ औं मिनेटमा गोल गरे र ह्याट्रिक पूरा गरे ।
यस क्रममा उनी नेपालका लागि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि गणेश थापाले ह्याट्रिक गरेका थिए ।
त्यस खेल लगतै नेपाल माल्दिभ्ससँग ३–२ ले पराजित रह्यो । त्यसमा हरि खड्काले दुई गोल गरे । एक खेल जितेर नेपाल सेमिफाइनल त पुग्यो, तर त्यसमा बंगलादेशसँग २–१ ले पराजित रह्यो । त्यसमा बालगोपाल महर्जनले ७४ औं मिनेटमा गोल गरे ।
त्यस हारपछि नेपालले तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेलेको थियो र त्यसमा पनि नेपाल २–० ले पराजित रह्यो ।
बंगलादेशलाई घरमा उपाधि
भारतको गोवामा भएको साफ च्याम्पियनसिपपछि यसको नयाँ संस्करण बंगलादेशको ढाकामा हुन चार वर्ष लाग्यो ।
सन् २००३ को संस्करण धेरै अर्थमा पूर्ण प्रतियोगिता रह्यो, किनभने यसमा पहिलो पल्ट दक्षिण एसियाका सबै आठ टिमको सहभागिता रह्यो ।
अफगानिस्तान नवप्रवेशी रह्यो र सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
समूह ए बाट पाकिस्तान र भारतले सेमिफाइनल यात्रा गरे । श्रीलंका र अफगानिस्तान समूह चरणबाट बाहिरिए । पाकिस्तान प्रतियोगिताको सरप्राइज टिम रह्यो र उसले लिग चरणका सबै खेल जितेको थियो । त्यसको अर्थ उसले भारतलाई पनि हराएको थियो ।
समूह बी मा नेपालसँगै आयोजक बंगलादेश, माल्दिभ्स र भुटान थिए ।
नेपालले भुटानलाई मात्र हराउन सक्यो, अन्य दुई खेलमा भने पराजित रह्यो । नेपाल बंगलादेशविरुद्धको पहिलो खेलमा १–० ले पराजित रह्यो । लगतै दोस्रो खेलमा नेपालले भुटानलाई २–० ले हरायो र यसमा गोल गर्ने खेलाडी थिए, निराजन रायमाझी र कुमार थापा । यो जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रह्यो ।
तर, अन्तिम खेलमा नेपाल माल्दिभ्सको हातबाट ३–२ ले पराजित रह्यो । नेपालका लागि निराजन र देवनारायण चौधरीले गोल गरेका थिए ।
नेपालले प्रतियोगिताका लागि भनेर दक्षिण कोरियाली प्रशिक्षक यु कि ह्योङको नेतृत्वमा तयारी गरेको थियो, तर यसको नतिजा फेरि एकपल्ट दु:खद रह्यो र टिम समूह चरणमै रोकियो । बंगलादेशका लागि यो अवसर खुसीको रह्यो ।
उसले सेमिफाइनलमा भारतलाई अतिरिक्त समयमा २–१ ले हरायो भने फाइनलमा माल्दिभ्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
यसअघि माल्दिभ्सले सेमिफाइनलमा पाकिस्तानलाई पन्छाएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले पाकिस्तानलाई हराएर समूह चरणमा बेहोरेको हारका बदला लिन भने सफल रह्यो ।
पाकिस्तानी भूमिमा भारतलाई उपाधि
सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची सहरले आयोजना गरेको थियो र त्यसक्रममा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।
भएको के थियो भन्दा त्यसको केही समय अगाडि मात्र कराँचीमा शृंखलाबद्ध बम विष्फोटन भएका थिए । त्यसैले सहभागी बसेको होटल र आयोजना स्थल रंगशालामा खुबै कडा सुरक्षा व्यवस्था थियो।
फेरि एकपल्ट प्रतियोगितामा आठै टिम सहभागी रहे । पहिलो समूह ए बाट माल्दिभ्स र पाकिस्तानले सेमिफाइनल यात्रा गरे । अफगानिस्तान र श्रीलंकाको यात्रा समूह चरणमै टुंगियो ।
अर्को समूहबाट बंगलादेश र भारत अन्तिम चारमा पुगे । यस समूहबाट बाहिरिने टिम थिए, नेपाल र भुटान । नेपालका लागि प्रतियोगिता फेरि एकपल्ट निराशाजनक रह्यो ।
जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाको नेतृत्वमा नेपालले एकै जित मात्र निकाल्न सक्यो र यो अपेक्षित रूपमा भुटानविरुद्ध नै थियो । यो नेपालको लिग चरणको अन्तिम खेल थियो र त्यस अगाडि नै नेपालको सेमिफाइनल पुग्ने समीकरण टुंगिसकेको थियो । नेपाल भारतसँग २–१ र बंगलादेशसँग २–० ले पराजित रह्यो ।
भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । माल्दिभ्सविरुद्ध प्राप्त ३–१ जितमा क्रमश: सुरेन्द्र तामाङ, वसन्त थापा र विजय गुरुङले गोल गरे।
सेमिफाइनलमा भने भारतले माल्दिभ्स र बंगलादेशलले पाकिस्तानलाई हरायो । फाइनलमा भारतले बंगलादेशलाई हराएर पाकिस्तानी भूमिमा उपाधि जित्न सफल रह्यो ।
नेपालका लागि यो प्रतियोगिता एक अर्थमा विशेष छ र यो हो, नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीको प्रवेश ।
त्यो भनेको नेपाली फुटबलमा नयाँ पुस्ताको प्रवेश पनि । यस प्रतियोगितासँगै उपेन्द्रमान सिंह र बालगोपाल महर्जन पुस्ताका खेलाडीको राष्ट्रिय टिममा पूर्ण विराम लाग्यो ।
माल्दिभ्स पहिलो पल्ट च्याम्पियन
सन् २००८ को साफ च्याम्पियनसिप धेरै अर्थमा फरक रह्यो, यसअघिका संस्करणको तुलनामा।
पहिलो पल्ट प्रतियोगिता दुई देशले आयोजना गरे, प्रतियोगिताले नयाँ च्याम्पिययन पायो, अनि भुटानको सेमिफाइनल यात्रा सम्भव भयो ।
यसमध्ये पनि सबैभन्दा ठूलो विशेषता त माल्दिभ्स पहिलो पल्ट साफ च्याम्पियन हुनु नै रह्यो ।
प्रतियोगितामा फेरि एकपल्ट आठ टिमले सहभागिता जनाएका थिए । त्यसमध्ये समूह ए का खेल मालेमा भएका थिए । यो समूहबाट भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरेको थियो ।
नेपाल यसै समूहमा थियो । फेरि एकपल्ट नेपालले पनि सुरुआती दुई खेल गुमायो, अनि सेमिफाइनल जाने सम्भावना समाप्त भयो ।
त्यसमा भारतविरुद्ध ४–० र माल्दिभ्सविरुद्ध ४–१ हार रह्यो । माल्दिभ्सविरुद्ध विसन गौचनले एक सान्त्वना गोल गरे ।
नेपालले पाकिस्तानको सामना गर्दा त्यसको महत्त्व औपचारिक मात्र थियो । यसमा भने नेपालले ४–१ को प्रभावशाली जित निकाल्न सक्यो ।
आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट लयमा रहेका जुमनु राई दुई गोल गरे । अर्को दुई गोल राजु तामाङ र निराजन रायमाझीले गरेका थिए ।
निराजनले यही खेलबाट नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरे । यससँगै उनले हरि खड्काको बराबरी गरेका थिए ।
निराजनले नेपालका लागि खेलेको यो २१ औं खेल मात्र थियो र यसले पनि प्रस्ट पार्छ, उनको नेपालका लागि गोल गर्ने उच्च दर । समूह बी का खेल कोलम्बोमा भएका थिए ।
त्यसबाट श्रीलंका र भुटानले सेमिफाइनल यात्रा तय गरे । भुटानका लागि यो अद्धितीय उपलब्धी थियो । यो समूहमा बंगलादेशको प्रदर्शन खराब रह्यो र तेस्रो स्थानमा मात्र रह्यो ।
अफगानिस्तान भने चौथो स्थानमा । अन्तिम चारमा भारतले भुटानलाई अतिरिक्त समयमा २–१ ले हरायो । माल्दिभ्स भने श्रीलंकामाथि १–० ले विजयी रह्यो ।
उपाधिको भिडन्त कोलम्बोमा भएको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई १–० ले हरायो र ऐतिहासिक रूपमा साफ च्याम्पियन भयो । खेलको ८७ औ मिनेटमा मुख्तर नासिरले निर्णायक गोल गरेका थिए ।
यो खेलको साक्षी बन्न २० हजार दर्शक सुगतदासा रंगशालामा उपस्थिति थिए । उपाधि जितेपछि माल्दिभ्सले मनाएको खुसीयाली हेरिनसक्नु थियो ।
भारत चौथो पल्ट च्याम्पियन
सन् २००९ को साफ च्याम्पियनसिप आयोजना फेरि एकपल्ट बंगलादेशमा भएको थियो र फेरि एक पल्ट भारत च्याम्पियन रह्यो ।
डिसेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा आठ टिम नै सहभागी रहे र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
पहिलो समूहमा थिए, माल्दिभ्स, भारत, नेपाल र अफगानिस्तान ।
नेपाल फेरि एकपल्ट सेमिफाइनल पुग्न सकेन्, तर टिमको प्रदर्शन ठ्याक्कै खराब पनि रहेन् । जुमनु राईको गोलको मदतले नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेको थियो ।
लगतै नेपाल भारतविरुद्धको खेलमा भने १–० ले पराजित रह्यो । आफ्नो अन्तिम खेलमा नेपालले ३–० ले हराएको थियो ।
त्यसमा अनिल गुरुङले दुई तथा विजय गुरुङले एक गोल गरे । यो जितपछि नेपालको चार अंक भएको थियो र सेमिफाइनल पुग्ने सम्भावना कायम थियो ।
तर, समूहको अन्तिम लिग खेलमा माल्दिभ्सले भारतलाई हराएपछि नेपालको बाटो बन्द भयो । माल्दिभ्स र भारत नै सेमिफाइनल पुगे । अर्को समूहबाट बंगलादेश र श्रीलंका अन्तिम चारमा पुगे ।
पाकिस्तान र भुटान लिग चरणमै रोकिए । सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई र भारतले बंगलादेशलाई हराएको थियो ।
यस्तोमा फेरि एकपल्ट उपाधि भिडन्तमा तिनै दुई टिमका रूपमा भारत र माल्दिभ्स भिडे ।
नतिजा भारतको पक्षमा रह्यो र भारत बन्यो, चौथो पल्ट साफ च्याम्पियन ।
अफगानिस्तान च्याम्पियन
साफ च्याम्पियनसिपको इतिहासमा नेपालसामु उपाधि जित्ने अवसर यति राम्रो कहिले पनि प्राप्त भएको थिएन् ।
कुरा, सन् २०१३ को साफ च्याम्पियनसिपको हो । तर, फेरि एकपल्ट नेपाल सेमिफाइनलमै रोकियो र यो रह्यो, अर्को असफलताको कथा ।
मैदानमा नेपालको प्रदर्शन धेरै अर्थमा राम्रो रह्यो र सेमिफाइनलमा अफगानिस्तानविरुद्ध खाएको एक गोलले सबै सपना चकनापुर पारेको थियो।
दशरथ रंगशालामा भएको प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर ११ सम्म चलेको थियो र सहभागी संख्या फेरि एकपल्ट आठ टिम नै रह्यो ।
नेपाल समूह ए मा थियो र यो प्रतियोगिता इतिहासमै सबैभन्दा कठिन समूह थियो । यसलाई ग्रुप अफ डेथ भन्दा केही फरक पर्दैनन् थियो । तर नेपाल यही समूहको विजेता रह्यो ।
नेपालले सुरुमै बंगलादेशलाई २–० ले हरायो र यसमा अनिल गुरुङ तथा भरत खवासले गोल गरे । लगतै नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेल्यो । त्यसमा खेलको अन्त्यतिर विमल घर्तिमगरले बराबरी गोल गरे । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ऐतिहासिक २–१ जित निकाल्यो ।
गोल गर्ने खेलाडी थिए, अनिल र जुमनु राई । नेपाल समूह विजेता बन्यो भने भारत उप विजेता । भारत र पाकिस्तानको समान चार अंक भएको थियो, तर हेड टु हेडको आधारमा भारत सेमिफाइनल पुग्न सफल रह्यो । अर्को समूहबाट माल्दिभ्स र अफगानिस्तान सेमिफाइनल पुगे । श्रीलंका र भुटान लिग चरणमै रोकिए ।
भरिभराउ दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानको हातबाट १–० ले पराजित भयो । यो दुर्भाग्यपूर्ण हार थियो, किनभने यो हुलमुलमा फ्यास्स भएको गोल मात्र थियो । गोलरक्षक थिए, किरण लिम्बू ।
उनका लागि यो आफ्नो खेल जीवनकै सबैभन्दा तीतो गोल रहेको छ र उनी त्यसबाट ठ्याक्कै के भएको थियो, अहिलेसम्म पनि भन्न सक्दैनन् ।
अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हरायो । फाइनलमा अफगानिस्तानले भारतमाथि स्तब्धपूर्ण २–० को जित निकाल्यो ।
नेपालको हारले स्तब्ध दर्शक त्यस फाइनल हेर्न रंगशाला पनि पुगेनन् र लगभग खालि खालि दर्शकदीर्घा अगाडि फाइनल भएको थियो । अनि अफगानिस्तान पहिलो पल्ट साफ च्याम्पियन बन्न सफल रह्यो ।
नेपालको अहिलेसम्मकै खराब प्रदर्शन
सन् २०१५ को साफ च्याम्पियनसिप भारतले फेरि एकपल्ट आयोजना गरेको थियो र फेरि एकपल्ट उपाधि जित्न पनि सफल रह्यो ।
केरलाको त्रिवेन्द्रममा भएको त्यस साफ च्याम्पियनसिपको मूल कथा हो, भारत कीर्तिमान सातौं पल्ट विजेता रह्यो ।
नेपालका लागि दृष्टिकोणमा भन्दा अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन रह्यो, यस प्रतियोगितामा ।
नेपाल समूह ए मा परेको थियो र यसमा खालि तीनै टिम मात्र थिए । अन्य दुई टिम थिए, भारत र श्रीलंका । पाकिस्तानले भाग नै लिएन् ।
नेपाल आफ्नो पहिलो खेलमै श्रीलंकाविरुद्ध १–० ले पराजित भयो । बराबरीतर्फ अग्रसर खेलको ९५ औं मिनेटमा मोहम्मद रिफनासले श्रीलंकाका लागि गोल गरे । लगतै भारतले श्रीलंकालाई २–० हरायो ।
यस्तोमा नेपालले आफ्नो अन्तिम खेलमा भारतमाथि निश्चित जित निकाल्न आवश्यक थियो, सेमिफाइनल पुग्नका लागि ।
विमल घर्तिमगरले खेलको तेस्रो मिनेटमै नेपालका लागि गोल गरेपछि सम्भावना बनेको पनि थियो, तर खेल सकिंदा नेपाल ४–१ ले पराजित रह्यो ।
यसरी सन् १९९७ यता पहिलो पल्ट नेपाल समूह चरणका सबै खेलमा पराजित भयो ।
समूह बी बाट अफगानिस्तान र माल्दिभ्स अन्तिम चारमा पुगे, बंगलादेश र भुटानको अनुपस्थितिमा । सेमिफाइनलमा भारतले माल्दिभ्स तथा अफगानिस्तानले श्रीलंकालाई हरायो ।
फाइनलमा भारत अफगानिस्तानमाथि २–१ को जित निकाल्न सफल रह्यो र यो अतिरिक्त समयमा प्राप्त जित थियो ।
भारतले प्रशिक्षक स्टेफन कन्स्टाइटिनको नेतृत्वमा खेलेको थियो । उनी नेपालका पूर्व प्रशिक्षक समेत हुन् । उनले नेपाल दुवै खेलमा पराजित रहे पनि टिमको प्रदर्शन राम्रो रहेको बताए ।
यो सान्त्वना प्रशंसा जस्तै थियो । यस प्रतियोगितामा नेपालका प्रशिक्षक प्याट्रिक ओसेम्स थिए र उनले नयाँ तथा युवा खेलाडी सम्मिलित टिम बनाएका थिए, त्यसैले पनि टिम अनुभवहीन रह्यो ।
सेमिफाइनलमै रोकिएको नेपाली चुनौती
सन् २०१८ मा बंगलादेशले आयोजना गरेको साफ च्याम्पियनसिप नेपालका लागि धेरै अर्थमा सम्झनालायक र उत्तिकै धेरै अर्थमा बिर्सनलायक रह्यो ।
सहभागी सात देशमध्ये छ टिमको प्रशिक्षक विदेशी थिए, खालि नेपालकै मात्र आफ्नै स्वदेशी प्रशिक्षक थियो, बालगोपाल महर्जनका रूपमा । उनकै नेतृत्वमा नेपाल सेमिफाइनलसम्म पुग्यो ।
ढाकाको बंगबन्धु रंगशालामा सेप्टेम्बर ४ देखि १५ सम्म आयोजित प्रतियोगितामा नेपाल समूह ए मा परेको थियो, जसमा चार टिम थिए । नेपालको सुरुआत राम्रो रहेन् र आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–१ ले पराजित रह्यो । नेपालका लागि विमल घर्मिमगरले एक गोल गरे । यस्तोमा नेपाल सुरुमै दबाबमा आयो ।
त्यसपछि नेपालको प्रतिद्वन्द्वी भुटान थियो र उसमाथि भने आरामको ४–० जित निस्केको थियो । यसमा गोल गर्न खेलाडी थिए, अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्का । यो जितका बावजुत नेपालको सेमिफाइनल यात्रा तय थिएन् र त्यसपछि नेपाललाई बंगलादेशविरुद्ध खेल्नु थियो ।
यसमा भने नेपालले २–० को सनसनीपूर्ण जित निकाल्यो, विमल घर्तिमगर र नवयुग श्रेष्ठको गोलको मदतले । यो नतिजाले जहाँ नेपाल समूह विजेता बन्यो, त्यहीं बंगलादेश भने प्रतियोगिताबाट बाहिरियो । पाकिस्तान समूहको दोस्रो स्थानमा रहेको सेमिफाइनल पुग्यो । लिग चरणको समाप्तीमा तीनै टिम समान छ छ अंकमा थिए, नेपाल, पाकिस्तान र बंगलादेश ।
अर्को समूहबाट भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे, श्रीलंका समूह चरणमै रोकियो । अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी थियो, माल्दिभ्स । प्रतियोगिताका क्रममा माल्दिभ्सले राम्रो खेलिरहेको थिएन्, त्यसैले नेपाललाई विश्वास थियो, यो खेल जित्न सकिन्छ । तर वर्षा र चट्याङबीच सुरु भएर रोकिएको र फेरि सुरु भएको खेलमा नेपाल ३–० ले पराजित भयो ।
मैदान पूरा हिलाम्यको स्थितिमा थियो र नेपाली खेलाडीसामु त्यस मैदानका लागि सुहाउँदो बुट दिएन् । यो नेपालका लागि सर्वथा बिर्सनलायक खेल रह्यो । अर्को सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले हरायो ।
फाइनलमा भने माल्दिभ्स भाग्यमानी रह्यो र उसले भारतलाई २–१ ले हराएर दोस्रो पल्ट च्याम्पियन बन्यो ।
सागरका लागि सम्झिने साफ
नेपाली फुटबलले पाएका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन्, सागर थापा । उनले निकै लामो समय नेपाली रक्षापंक्ति सम्हाले । अनि कप्तानी पनि ।
अहिले भने उनी नेपाली फुटबलको परिदृष्यमा छैनन् र सबैलाई थाहा छ, उनीमाथि खेल मिलामतोको आरोपमा आजीवन प्रतिबन्ध लागेको छ । तर उनी सम्झिरहनु पर्ने खेलाडी भने हुन् ।
सन् २०११ को साफ च्याम्पियनसिप धेरैले उनकै एक गोलका लागि सम्झिने गर्छन् । र, सबैलाई के पनि थाहा छ भने नेपालका तर्फबाट सम्भव गोल मध्ये यो सर्वाधिक उत्कृष्टमा पर्छ ।
यो संस्करणको साफ च्याम्पियनसिप भारतको नयाँ दिल्लीमा भएको थियो र घरेलु टिम नै च्याम्पियन बन्यो । छैटौं पल्ट च्याम्पियन हुने क्रममा भारतले फाइनलमा अफगानिस्तानलाई सजिलै ४–० ले हरायो ।
पूरा प्रतियोगितामा सुनिल क्षेत्री छाए । उनले सात गोल गरे र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हराएको थियो । अफगानिस्तानले अर्को सेमिफाइनलमा नेपाललाई अतिरिक्त समयको खेलपछि १–० ले हरायो ।
नेपालका लागि प्रतियोगिताको अन्तिम चारमा पुग्नु आफैमा उपलब्धी थियो, तर फाइनल यात्रा भने सम्भव भएन् ।
अफगानिस्तानविरुद्धको हार निकै पीडायदायी रह्यो । सेमिफाइनल खेल अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरिसकेको थियो, नेपाल साफ च्याम्पियनसिप जित्छ भने प्रत्येक खेलाडीलाई अपार्टमेन्ट उपहार दिइनेछ ।
कुल आठ टिम सम्मिलित प्रतियोगिता डिसेम्बरको २ बाट ११ सम्म चलेको थियो । समूह ए बाट अफगानिस्तान र भारत सेमिफाइलन पुगे ।
श्रीलंका र भुटान लिग चरणमै रोकिए । समूह बी बाट भने माल्दिभ्स र नेपाल अन्तिम चारमा पुगेको थिए । समूहमा पाकिस्तान र बंगलादेश अन्तिम दुई स्थानमा रहे । नेपालले सुरुमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी खेलेको थियो ।
यसमा सन्दीप राईले नेपालका लागि गोल गरेका थिए । संयोगले उनी पनि खेल मिलामतोको आरोपमा आजीवन प्रतिबन्ध बेहोरिरहेका छन् ।
दोस्रो खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यसैमा सागरले प्रसिद्ध निर्णायक गोल गरेको, मैदानको बीच भागबाट प्रहार गरेको फ्रि किकको मदतले ।
नेपालले अन्तिम खेलमा पाकिस्तानविरुद्ध १–१ को बराबरी खेल्यो र लिग चरणमा अपराजित रह्यो । त्यसमा भने भरत खवासले गोल गरेका थिए ।
कराँची साफमा नयाँ पुस्ताको उदय
सन् २००५ को कराँची साफ च्याम्पियनसिपको चर्चा गर्दा त्यसको नेपाली फुटबलमा खास अर्थ छ । किन भने यस प्रतियोगितासँगै नेपाली फुटबलमा नयाँ अध्याय सुरु हुन्छ ।
र, त्यो अध्याय नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता । यो क्रम अहिलेसम्म पनि चलिरहेको नै छ ।
त्यस साफमा नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेलेको थियो, जसमा नेपाल २–१ ले पराजित रह्यो । भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । त्यसमा एकैपल्ट सात खेलाडीले डेब्यु गरेका थिए ।
ती थिए, विकास मल्ल, जनक सिंह, विसन गौचन, तासी छिरिङ, प्रदीप महर्जन, विजय गुरुङ र लोकबन्धु गुरुङ ।
लगतै बंगलादेशविरुद्धको खेलमा अञ्जन केसी, राजु तामाङ र प्रलय राजभण्डारीले पहिलो पल्ट खेल्ने अवसर पाए ।
प्रतियोगिता डिसेम्बरमा भएको थियो । त्यस अगाडि नेपालको अन्तिम खेल एसिया कप छनोट दोस्रो लेगमा दक्षिण कोरियाविरुद्ध थियो । त्यो भनेको सन् २००३ को अक्टोबर ।
नेपाली राष्ट्रिय टिमले त्यसबीच दुई वर्ष भन्दा बढी खेल्दै खेलेन् र यसमा विश्वकप छनोट पनि पर्छ । एसिया कप छनोटमा खराब प्रदर्शनपछि यो स्थिति तयार भएको थियो ।
दक्षिण कोरियाविरुद्ध खेलेको त्यस खेलका ६ खेलाडीले नेपालका लागि अन्तिम खेले खेलेको संयोग पनि तयार भयो।
ती खेलाडी थिए, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, मधु कार्की, नरोत्तम गौत्तम, सुनिल तुलाधर र कुमार थापा । कराँचीमा टिमकै सदस्यका रूपमा गोलरक्षक सिंह पनि पुगेका थिए, तर उनले खेल्न पाएनन्।
साफमा किन नेपाल विजेता रहेको छैन ?
नेपालले भलै साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्, दक्षिण एसियाली खेलकुद (साग) मा भने नेपालको प्रदर्शन गर्विलो छ ।
नेपाली फुटबललाई लिएर यो अर्को महत्त्वपूर्ण तथ्य रहेको छ । खासमा नेपालले साफ च्याम्पियनसिप जितेको मात्र छैन, प्रतियोगिताको इतिहासमा अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन ।
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तीन पल्ट सेमिफाइनल खेल्नु हो ।
अझ नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु हो, जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।
सागमा भने नेपाल पुरुष फुटबलतर्फ दुई पल्टको डिफेन्डिङ च्याम्पियन हो । सन् १९९९ यता यसमा यू–२३ टिमले खेल्ने गर्छन् । यो ओलम्पिक ढाँचा भयो ।
नेपालले सन् २०१६ मा भारत तथा सन् २०१९ मा नेपालमै प्रतियोगिता हुँदा स्वर्ण जितेको थियो । यस्तै सफलता नेपालले साफ च्याम्पियनसिपमा दोहराउन सकेको छैन् र यो नै मूल प्रश्न हो ।
समग्रमा नेपालले सागमा चार स्वर्ण जितेको छ । त्यसमध्ये सन् १९८४ र १९९३ मा जित्दा पूरा राष्ट्रिय टिम थियो । राष्ट्रिय टिमले नै खेल्दा नेपालले दुई रजत र एक कांस्य पनि जितेको छ ।
यू–२३ टिमले खेलेयता थप एक कांस्य पदक जितेको छ । यस्तो नेपालले छ पल्ट सागको फाइनल खेलेको छ।
नेपाली फुटबलका लागि ‘साफ भर्सेस साग’ को इतिहास आफैमा अविश्वसनीय छ र मूल प्रश्न त्यही नै हो, अहिलेसम्म साफमा नेपाल किन विजेता रहेको छैन् ?
चार विजेताविरुद्ध नेपाल
भारतविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अगाडि सोल्टी होटलमा आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एउटा तथ्य रोमाञ्चक ढंगले प्रस्तुत गरेका थिए ।
त्यस अनुसार अबको साफ च्याम्पियनसिप २०२१ मा नेपाल सबैभन्दा कमजोर इतिहास भएको टिम हो ।
हो पनि, यसपल्टको साफ च्याम्पियनसिप खेल्ने टिममध्ये सबैभन्दा खराब प्रदर्शनको इतिहास नेपालकै छ ।
उनले एउटा तथ्य के छुटाएका थिए भने यसपल्टको साफ च्याम्पियनसिपमा नेपाल त्यस्ता चार टिमविरुद्ध खेल्दैछ, जो यसअघि प्रतियोगितामा विजेता रहिसकेका छन् ।
नेपालले सहभागीमध्ये एक मात्र यस्तो टिम हो, जसले अहिलेसम्म प्रतियोगिता जितेको छैन् । यसपल्ट प्रतियोगितामा पाकिस्तान र भुटानले खेलिरहेका छैनन् ।
पाकिस्तान फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ भने भुटानलाई त्यहाँको सरकारले भाग लिन दिएन्, कोभिड १९ को महामारीबीच ।
संयोग कस्तो भने नेपाल भन्दा खराब प्रदर्शन यिनै दुई टिमको मात्र रहेको छ । त्यस अर्थमा अहिलेसम्मको समग्र साफ च्याम्पिनसिपको इतिहास बनाउने हो भने नेपालमा प्रदर्शन गर्व गर्न लायक छैन् ।
भारत साफ च्याम्पियनसिपको इतिहासमा सर्वाधिक सफल टिम हो, उसले सात पल्ट उपाधि जितेको छ । त्यसपछि माल्दिभ्स आउँछ, उसले दुई पल्ट उपाधि जितेको छ ।
यसपल्ट माल्दिभ्स आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । त्यसपछि बंगलादेश र श्रीलंकाले एक एक पल्ट उपाधि जितेका छन् ।
एक पल्टको च्याम्पियन अफगानिस्तानले अचेल साफ च्याम्पियनसिप खेल्दैन् ।