काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ ।
दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो ।
बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । क्विन्टन डी ककले २४ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए ।
युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
श्रीकर भारतले ३२ रन जोड्दा एबी डी भिलियर्सले ११ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
मुम्बई ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।