काठमाडौं । भारतको गोवामा भएको साफ च्याम्पियनसिपपछि यसको नयाँ संस्करण बंगलादेशको ढाकामा हुन चार वर्ष लाग्यो ।
सन् २००३ को संस्करण धेरै अर्थमा पूर्ण प्रतियोगिता रह्यो, किनभने यसमा पहिलो पल्ट दक्षिण एसियाका सबै आठ टिमको सहभागिता रह्यो ।
अफगानिस्तान नवप्रवेशी रह्यो र सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
समूह ए बाट पाकिस्तान र भारतले सेमिफाइनल यात्रा गरे । श्रीलंका र अफगानिस्तान समूह चरणबाट बाहिरिए । पाकिस्तान प्रतियोगिताको सरप्राइज टिम रह्यो र उसले लिग चरणका सबै खेल जितेको थियो । त्यसको अर्थ उसले भारतलाई पनि हराएको थियो ।
समूह बी मा नेपालसँगै आयोजक बंगलादेश, माल्दिभ्स र भुटान थिए ।
नेपालले भुटानलाई मात्र हराउन सक्यो, अन्य दुई खेलमा भने पराजित रह्यो । नेपाल बंगलादेशविरुद्धको पहिलो खेलमा १–० ले पराजित रह्यो । लगतै दोस्रो खेलमा नेपालले भुटानलाई २–० ले हरायो र यसमा गोल गर्ने खेलाडी थिए, निराजन रायमाझी र कुमार थापा । यो जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रह्यो ।
तर, अन्तिम खेलमा नेपाल माल्दिभ्सको हातबाट ३–२ ले पराजित रह्यो । नेपालका लागि निराजन र देवनारायण चौधरीले गोल गरेका थिए ।
नेपालले प्रतियोगिताका लागि भनेर दक्षिण कोरियाली प्रशिक्षक यु कि ह्योङको नेतृत्वमा तयारी गरेको थियो, तर यसको नतिजा फेरि एकपल्ट दु:खद रह्यो र टिम समूह चरणमै रोकियो । बंगलादेशका लागि यो अवसर खुसीको रह्यो ।
उसले सेमिफाइनलमा भारतलाई अतिरिक्त समयमा २–१ ले हरायो भने फाइनलमा माल्दिभ्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
यसअघि माल्दिभ्सले सेमिफाइनलमा पाकिस्तानलाई पन्छाएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले पाकिस्तानलाई हराएर समूह चरणमा बेहोरेको हारका बदला लिन भने सफल रह्यो ।