स्पेन विश्वकपनजिक

काठमाडौं। स्पेनले जर्जियालाई ४–० गोलले हराउँदै विश्वकपको ढोकामा पुगेको छ।
बोरिस पाइचादजे दिनामो एरिनामा शनिबार राति भएको खेलमा लुइस फुइन्टेको टोलीले सुरुदेखि नै नियन्त्रण राख्यो।
खेलको ११औं मिनेटमा मिकेल वार्जाबालले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाए। यो उनको राष्ट्रिय टोलीको ५०औं खेल पनि थियो।
२२औं मिनेटमा रुइजको पासबाट मार्टिन जुबिमेन्डीले गोल गरे भने ३४औं मिनेटमा वार्जाबालको पासबाट फेरान टोरेसले गोल थपे। दोस्रो हाफमा पनि जर्जियाले कुनै अवसर सिर्जना गर्न सकेन र लगातार आक्रमण गर्दै स्पेनले ६३औं मिनेटमा टोरेसको क्रसबाट हेडमार्फत वार्जाबालले आफ्नो दोस्रो गोल गर्दै ठूलो जित सुनिश्चित गरे।
स्पेनले यससँगै प्रतिस्पर्धात्मक फुटबलमा लगातार ३० खेलमा हार बेहोरेको छैन र पुरानो रेकर्ड २९ खेलको भन्दा माथि पुगेको छ। युरोपियन छनोटमा पाँच खेलमा सबै जित्दै स्पेन ‘ई’ समूहको शीर्ष स्थानमा १५ अंकसहित रह्यो र पाँच खेलमा १९ गोल गरे पनि कुनै गोल खाएको छैन।














