काठमाडौं । श्रीलंकाली फुटबल प्राय: त्यहाँको क्रिकेट अगाडि प्राय: ओझेलमा पर्ने गर्छ । क्रिकेटले त्यहाँको फुटबललाई कतिसम्म चुपचाप रहन बाध्य पारेको छ भने कुनै समय त्यस्तो पनि रह्यो, जति बेला श्रीलंकाली फुटबल शून्यकै स्थितिमा पुग्यो । श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्याएको थियो ।
यी सबैका वावजुत पनि श्रीलंकाली फुटबलले एकाध राम्रै सफलता नपाएको पनि होइन् । सन् १९९५ मा श्रीलंकाले दोस्रो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो र यो त्यही समय हो, जसलाई श्रीलंकाली फुटबलको स्वर्णिम काल थियो भन्ने पनि गरिन्छ । मार्च २५ देखि अप्रिल २ सम्म आयोजित प्रतियोगितामा पाँच टिम सहभागी थिए ।
त्यसलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा थिए, बंगलादेश, नेपाल र माल्दिभ्स । बंगलादेश र नेपालले समूहको शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित रह्यो । पछि नेपालले पाकिस्तानलाई समान २–० ले हरायो ।
नेपालका लागि त्यस खेलमा हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । समूह बी मा रहेको माल्दिभ्सले प्रतियोगिता नखेल्ने भने पछि यसमा खालि दुई टिम मात्र रहे, श्रीलंका र भारत । त्यस खेलको नतिजा बराबरी रह्यो र समूह विजेताका निर्णय टसबाट गरिएको थियो । त्यसमा भाग्यले श्रीलंकाको साथ दियो ।
सेमिफाइनलमा भारतले बंगलादेशलाई हरायो भने श्रीलंकाले नेपाललाई । श्रीलंकाको जित अतिरिक्त समयमा प्राप्त भएको थियो, २–१ को स्कोरमा । नेपालका त्यस खेलमा गोल गर्ने खेलाडी थिए, दीपक अमात्य । फाइनलमा श्रीलंकाले भारतलाई १–० ले हरायो, त्यो पनि अतिरिक्त समयमै प्राप्त जित थियो ।
श्रीलंकाली फुटबलका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी त हो नै, उसले जितेको एक मात्र उपाधि पनि यही हो । श्रीलंकाले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा कहिले पनि स्वर्ण जितेको छैन् । तर सन् १९९५ मा उसलाई सार्क गोल्डकप जित्नबाट कसैले रोक्न सकेन् । सन् २००६ को एक वर्ष छाडेर श्रीलंकाली फुटबल अधिकांस समय कमजोर नै सावित भयो ।