उनको जन्म ललितपुरको मुटु जावलाखेलमा भयो । घर नजिकै प्रतिष्ठित क्लब थियो । माहोल खेलकुदको हुने भइहाल्यो । त्यो समय फुटबल नेपालमा नम्बर एक खेल थियो । सानै हुँदाताक जावलाखेलको मैदान उनको लडिबुडी खेल्ने थलो थियो । साथीसंगतीसँग मैदान पुग्थे, ठूला दाइहरूले खेलेको हेर्थे ।
उनी अर्थात मेघराज केसी तीनताक ११ वर्षका हुँदाहुन्, भनिमण्डलमा अन्डर ५ फिटको प्रतियोगिता हुने भयो । भैँसेपाटीमा कालिका क्लबले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितालाई लिएर सबैभन्दा बढी मेघराज नै उस्ताहित थिए– बाल्यकालको समय अनि जीवनकै पहिलो प्रतियोगिता । स्पर्धा भनौँ ।
जिन्दगी मेघराजले कल्पेकै बाटोमा कहाँ हिँड्छ र ! यसको आफ्नै धार, संसार हुन्छ ।
जीवनमा नसोचे घटना तर अवश्यम्भावी क्षण आइलाग्यो । बाटो देखाउने र संसार चिनाउने बाबु रहेनन् । प्रतियोगिता आउन तीन दिन बाँकी थियो । पापिष्ट कालले बाबुको मृत्युको पुर्जी काट्यो ।
हिन्दू संस्कार अनुसार आमा र दाजु काजक्रियामा सामेल थिए । चुडाकर्म, उपनयन नगरेकाले बाबुको किरिया बस्न पाएनन् । कोरा पस्न पाएनन् ।
उनलाई अझै सम्झना छ– तत्क्षण । उनले कपाल खौरिए । सेतो टालो कपालमा बाँधे । पूरै परिवार शोकमा चुर्लुम्म डुबेका बेला । उनको मथिङ्गलमा भने अर्को चिन्ता थियो– प्रतियोगिता छुट्ने त हैन ?
'बाल्य पिरलो नि ! बाल्यकालको अबुझ उमेर !,' कैश्वोर्यकाललाई दोष दिन्छन् ।
समय बित्दै गयो । जसरी बाबु बिते । प्रतियोगिताको दिन आइहाल्यो ।
दिमागमा जसरीपनि खेल्नपर्छ भन्ने छ तर घरबाट उम्कन, फुत्कन सक्ने अवस्था छैन । गाउँका अग्रज दाइले टोलभरीका अनुजहरू बटुल्दै लगेको उनले टुलुटुलु हेरिरहे । चञ्चले मन त हो, उनीहरूको पिछा गरिहाल्यो ।
मन मैदानमा पुगिसक्यो । उनी घरमा कैदी बनेका छन् । बाबुको जूठो बारिरहेका बेला खेल खेल्न जान्छु कसरी भन्नु ! आपद् आइलाग्यो ।
आचौचको बेला । एकछाक मात्रै खानुपथ्र्यो । त्यो पनि मध्याह्नमा मात्रै पाक्थ्यो । साथी गएको आधा घन्टा भइसकेको थियो मनले मान्दै मानेन । जसरी हुन्छ जाने निष्कर्षमा पुगे ।
मूल ढोकाबाट निस्कने अवस्था थिएन । गोजीमा फलफुल राखे अनि घर पछाडीको झ्यालबाट ओर्लिर मैदानतर्फ हानिए, दगुर्दै ।
कुद्दै गएकाले संयोग नै भनौँ, साथिसँगै मैदानमा पुगे ।
सिनियर दाजुहरूले समेत मेघराजलाई त्यही अवस्थामा खेलाइदिए ।
बेलुका घर फर्किए । दिउँसोभरिको उमङ्ग उत्साह चिसियो । उनले भलिभाँती गाली खाए ।
फुटबल उनको बाबुजत्तिकै प्रिय थियो । बाबुले पो छाडेर गए । फुटबल छाड्नुहुँदैन भन्ने मनमन जबरजस्त थियो । उनले प्रतियोगिता हापेनन् । पूरै अवधि गुजारे । मेहनतको फल राम्रै हुन्छ । उपाधि उनकै टिमको पोल्टामा प¥यो । उत्कृष्ट खेलाडी उनै मेघराजले पाए ।
जीवनले कोल्टे फेर्यो ।
'यसले जे गरे पनि फुटबल खेल्छ भन्ने परिवारमा पर्न गयो,' त्यतिबेलाका क्षण स्मरण गर्छन् उनी ।
४९ सालमा एसएलसी दिएपछि परिवारको चाहना थियो, कान्छो छोराले राम्रो विषय छानोस् । पढाइले जिन्दगीको बाटो तय गरोस् ।
तर रगतमै फुटबल कुदाएका मेघराजले अन्त कहाँ बाटो देखेका थिए र ! फुटबल नै खेल्ने जिद्दि गरे । अड्डी कसे ।
परिवारले मानेनन् । उनले विद्रोह ओकले । अलग्गिए मूलघरबाट ।
अर्को घरमा खाली फ्ल्याट थियो । त्यही बसेर फुटबल साधनामा लिन हुन थाले ।
आमाको मन न हो, तरल भइन् । बग्दै उनको कोठामा आइन् र उनको सपनालाई टुलुटुलु हेरिन् । आमा पनि साथमा भएकाले उनीमा ऐश्वर्य प्राप्ती भयो । जीवनमा पछाडि फर्किएर हेर्नु परेन ।
'आमालाई छोरा प्यारो, मलाई फुटबल, मायाको रङ त आखिर एकै हुन्छ,' पुलकित हुन्छन् मेघराज ।
प्रवेशिका परीक्षा दिएको रिक्त, रित्तो समय थियो । जावलाखेलको मैदानमा सिनियरसँग उनी फुटबल खेल्न थाले ।
छिट्टै उनी जावलाखेलको सिनियर टिममा समेत पर्न सफल भए । ललितपुरको टिमले त्यो समय ट्रेनिङमा व्यतीत गरिरहेको थियो । त्यतिनै बेला क्षेत्रीय प्रतियोगिताको आयोजना हुने भयो, जावलाखेलले पनि त्यो अवसर किन खेर फाल्थो ?
प्रशिक्षकमा भीम थापा थिए । डिफेन्समा राजु शाक्य अनि स्ट्राईकरमा दिपक आमात्य जस्ता उम्दा खेलाडी थिए । र, त्यो टिममा मेघराज पनि थिए ।
मेघराज र उपाधि एकअर्काका पयार्यजस्तै भइसकेका थिए । जावलाखेलले त्यो क्षेत्रीय उपाधिमाथि पनि कब्जा जमायो ।
काठमाडौंबाट विराज शाह, मणि शाह लगायतका खेलाडी खेल्थे ।
त्यसपछि मेघराजले फुटबल करियरमा असफलताको स्वाद चाख्नै परेन । लामो समय जावलाखेलबाट कप्तान भएर खेले । त्यो समय पैसाकालागि खेल्ने भन्ने थिएन । पैसा लिएर फुटबल खेल्ने भन्ने कुरा घुर्मैलो सुनिँदै थियो ।
अरु क्लबहरूले समेत फुटबल खेल्न बोलाउँथे, पैसाको अफर पनि नआएका होइनन् ।
जाउलाखेल । आफू खाइखेली, हुर्किएको ठाउँ । त्यसैले उनलाई फुटबल स्टार बनाएको थियो । चिनारी दिएको थियो । जीवनमा परिचय बदलिएको थियो । जावलाखेले स्पर्धामा भाग लिएका बेला उनलाई अरू क्लबको जर्सी पहिरिन मन लागेन ।
तर, जावलाखेल नखेलेका बेला भने फुटबलसँग नाता जोडिएका मेघराजले
अरू क्लबको समेत जर्सी लगाए । उनले त्यो समय फ्रेन्ड्स, थ्रीस्टार, एनआरटीबाट समेत खेले ।
पचासको दशको शुरूआततिर को कुरा हो, सम्भवतः ०५२ साल । लोकबहादुर शाहीले भारत आसाममा नेपालको टिमबाट खेल्ने कुरा गरे । त्यो समय मेघराज यू–२० प्रतियोगिताका लागि छनोट भएका थिए । अभ्यास चलिरहेको थियो, प्रशिक्षकमा विराटकृण्ण श्रेष्ठ थिए ।
एन्फाको अभ्यास शत्र दशैकालागि बिदा भएको थियो । शाहीले दसैँको विदाको मौका छोपेर नेपाली टिम लगेर आसाम लगेका थिए । जादाँ बोइङ जहाजमा लगेका शाहीले फर्कदा काँकडभिट्टासम्म ३६ घण्टा रेलको यात्रा गराए, भोकभोकै, पानीसमेत खान नदिई ।
नेपाल छिरेलगत्तै उनी नेपाली टोलीबाट बेपत्ता भए । तर भद्रपुरमा प्लेन चढ्ने बेलामा नेपाली टोलीसँग शाहीको जम्काभेट भयो । मेघराज लगायतले शाहीसँग भनाभनै गरे ।
त्यो समय एन्फाका महासचिव थिए शाही । घटना त्यत्तिमै रोकिएन । नेपाली टिमको उमेर समूहको बन्द प्रशिक्षण चलिरहेको थियो । विदेश खेल्न जान २० सदस्यीय नेपाली टिम तयारी हालतमा थियो । प्रशिक्षक श्रेष्ठले क्लासमा प्रशिक्षण दिइरहेका थिए । त्यही समय एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा र लोकबहादुर शाही कक्षाभित्र छिरे । केही बेर प्रशिक्षक श्रेष्ठसंग कुराकानी गरे ।
अनि उनै प्रशिक्षकले मेघराजलाई एन्फामा भएको विवाद मिलाउन सुझाए । एन्फामा लिखित रूपमा माफी माग्नुपर्ने बताए । नत्र राष्ट्रिय टिमबाट बाहिर नलैजाने घोषणै गरे ।
फुटबलप्रति इमान्दार मेहनत मेघराले स्वाभिमान, इमानसँग सम्झौता किन गर्थे ?
मेघराजपनि के कम । माफी माग्न त परै जाओस, एन्फा अध्यक्ष थापा र शाहीलाई थप गाली गरे ।
'गल्ती नगरेको कुरामा के माफी माग्नु !,' उनी सम्झन्छन् ।
त्यही घटनादेखि हो उनले नेपाली टिम छाडेको ।
त्यसपछि गणेश थापा र लोकबहादुर शाहीसँग उनको कहिल्यै राम्रो सम्बन्ध भएन ।
५५÷५६ सालतिर हो । एन्फामा गणेश थापा र गीता राणाबीतको विवाद उत्कर्षमा पुग्यो । सरकारलगायत सबैले राणाको पक्ष लिए । त्यो समय सबैले गणेश थापाको साथ छाडे ।
तिनताका जावलाखेलको अध्यक्ष सुनिल राणा थिए, गणेश थापाले बोलाएको छ भनेर लगेर गए ।
भर्खरै एन्फाले एकेडेमी सुरु गरेको थियो । पहिलो ब्याचका खेलाडी एन्फामा थिए । थापालगायत सबैलाई एन्फाबाट निष्काशन गरिएको थियो । प्रशिक्षक कोही थिएन थापाले अगाडिका कुरा भुलेर मेघराजलाई सहयोग गर्न आग्रह गरे ।
थापासँगको कुरा मिलेन । तर, फुटबल उनको जीवन थियो । सपना थियो । पूजा–आराधना थियो ।
'गणेश थापा भनेर होइन, फुटबललाई सहयोग गर्नपर्छ भन्ने लागेर एकेडेमीका जुनियरलाई प्रशिक्षण दिन राजी भएँ,' उनी दाबी गर्छन ।
एकेडेमीका नूतन प्रशिक्षार्थीलाई महालक्ष्मीथानको राजदलभित्र बाटोको एक घरमा राखियो । मेघराज दैनिक बिहान ५ बजे पुग्थे । एकेडेमीको इन्चार्ज पनि आफैँ थिए, प्रशिक्षकपनि आफैँ । एकेडेमीका जुनियरहरू (जो भर्खर प्रशिक्षणमा भर्ती भएका थिए) ग्लालेक्सीमा स्कुलमा पढ्थे, उनीहरुलाई जावलाखेल ल्याएर ट्रेनिङ गराउनु पथ्र्यो ।
गृहमन्त्रालयले गणेश थापाका एकेडेमीका प्रशिक्षार्थीलाई कुनै पनि मैदानमा खेल्न नदिने भनेर निर्देशन नै जारी गर्यो । क्लबसमेत डराएको अवस्था थियो । तर उनले अध्यक्ष राणालाई त्यो विषयमा सहमत गराए ।
करिब ५ महिनापछि एन्फा एकेडेमीका खेलाडीलाई लामाटारको शुभतारा स्कुलमा सारियो । अब मेघराजसँग दिपक अमात्य पनि थपिए । अमात्यको आर एक्स बाइक थियो । खेलाडीलाई सिकाउन दुवै सँगै जान्थे ।
माओवादी द्वन्द्वको प्रभाव विस्तारै बढ्दै थियो । एउटा नराम्रो घट्यो । लामाटारको स्कुल माओवादी आक्रमणमा पर्यो । मेघराज तुरुन्त लामाटार पुगे । बच्चाहरू सबैलाई लोकल गाडीमा राखेर त्यहाँबाट झिकाए ।
मेघराज खेलाडी पनि थिए, संगै प्रशिक्षण पनि गरिरहेका थिए । अवस्था सहज हुँदै गयो । मेघराजले प्रशिक्षण दिएको टिम सिंगापुर जाने भयो । तर प्रशिक्षकमा अरूलाई नै जिम्मेवारी तोकियो । घटनाबाट मेघराजसँगै दिपक पनि रिसाए । उनले विस्तारै त्यहाँबाट हात झिके, अन्तिममा अमेरिका हानिए । मेघराजपनि निराश थिए । राजनीतिक दाउपेचमा पर्न भन्दा छाड्ने मनसाय नबनाएका होइनन् । तर दीपकले उनलाई रोके । 'तिम्रो उमेर छ, फुटबलमा अझै केही गर्नै पर्छ,' दीपकले सम्झाए ।
तर, उनको मन फर्किएन । फुटबलमात्रै भए पो वृद्धिविकास हुन्थ्यो राजनीति घुसेपछि खेलक्षेत्र ओह्रालो लागेको आभास हुन थालेको थियो ।
घरमै आएर बसे । वास्ता हुने कुरापनि भएन । घरमै बसिरहेका थिए । एकदिन गणेश थापाले देखेछन् ।
'हिजोआज किन देखिन छाडेको ?,' थापाले भने ।
उनले कुनै उत्तर दिएनन् ।
थापाले नै थपे, 'एन्फाको सेकेन्ड ब्याजका खेलाडी हेर्न कीर्तिपुर जानूस् ।'
मेघराजले २ वर्ष एकेडेमीका खेलाडी हेरे । सँगै फुटबल पनि खेलिरहेका थिए । प्रशिक्षक कम तर खेलाडी बढी भएर जावलाखेलमा पनि उनको उपस्थिती देखिन्थ्यो ।
उनको फुटबल करियर मन्द गतिमा चलिरहेको थियो, तर नेपालको राजनीतिको घटनाक्रम तीव्र रुपमा विकास भइरहेको थियो । माओवादी खुल्ला राजनीतिमा आएको समय थियो, त्यो ।
एन्फा सधै सबैको आखाँ लाग्ने ठाउँ हो । खेल क्षेत्रको उत्थानका लागि होइन, फगत राजनीति गरेर आफ्नो दुनो सोझ्याउन ।
क्यानटोनमेन्टमा बसेपछि माओवादीले एन्फालाई दुःख दिन थाल्यो ।
सत्ता खेलाडीसँग अनुकुल सम्बन्ध बनाउन खप्पिस गणेश थापाले माओवादी नेताहरूसँग सम्पर्क बढाए ।
माओवादीका खेलाडीलाई ट्रेनिङ गराउन शक्तिखोरमा प्रशिक्षक पठाउने आपत थापालाई आइलाग्यो । थापाले फोन घुमाए । र, मेघराजलाई त्यहाँ जान आग्रह गरे ।
हेर आपत् ! काठमाडौंमा जन्मे, हर्केका मेघराजलाई माओवादीबारे धेरै थाहा थिएन । आफ्नो स्कुलमा आक्रमण गरेको, सफारी गाडी जलाएको अनि प्रिन्सिपललाई कालोमोसो दलेको सम्झना उनको मगजमा खेल्न थाल्यो ।
डर नहोसपनि किन, माओवादी बारे उनको मगजमा राक्षसी विम्ब थियो । जंगली चरित्रले मथिङ्गल ओगटेको थियो । र, शरीरमा भयको रसायन कुदाएको थियो ।
कारण– त्यो समय खाली माओवादीले मान्छे मारेको मात्रै समाचार आउँथ्यो !
माओवादीले ४५ दिनलाई प्रशिक्षक मागेका रैछन् । एन्फा अध्यक्ष थापाले मेघराजसँगै किशोर केसी र डिकेन सुवाललाई शक्तिखोर जान निर्देशन दिए ।
थापाले १५÷१५ दिन गरेर जान सुझाए । तर किशोर र डिकेनले सुरुमा जुनियर मेघराजलाई जान आग्रह गरे ।
मेघराज सम्पर्क व्यक्तिको नाम र नम्बर टिपेर चितवन हान्निए । सञ्जिव नामका कमान्डर थिए, उनले शक्तिखोरमा लगेर मेघराजको सबै व्यवस्था गरे ।
१५ दिन बित्यो, घर फर्कने समय भयो । गणेश थापालाई फोन गर्यो लाग्दैन, अरुसँग बुझे, सिंगापुर गएको खबर आयो । उनी थप १५ दिन त्यहीँ बस्न पर्ने भयो ।
एक महिनापछि जिल्लाव्यापी प्रतियोगिता हुने भयो । टिमसहित मेघराज तयार भए । पीएलए प्रथम भयो । उपाधि जित्ने बानी परेका मेघराज त्यहाँ पनि किन पछि पर्थे । मेघराजले शक्तिखोरको बसाइ टुङग्याए ।
लगत्तै काठमाडौंमा राष्ट्रिय खेलकुद हुने भयो । पीएलए विभागीय टिमको रूपमा खेल्ने भयो । पीएलए खेल्ने भएपछि विभागीय टिम आर्मीले प्रतियोगिताबाट हात झिक्यो । मेघराजलाई प्रस्ताव आयो, काठमाडौंमा हुने राष्ट्रिय खेलकुदमा पीएलएको फुटबल टिम हेर्न । लामो बसाइले उनको दोस्ती जमेको थियो । समयसँगै धेरै आत्मीय क्षणहरु जोडिइसकेका थिए । राष्ट्रिय खेलकुदमा पीएलए तेस्रो बन्यो । त्यो स्तरको टिम थिएन तर कास्य जित्न सफल भयो ।
एक दिन गणेश थापाले फेरी फोन गरे, शक्तिखोर जान आग्रह गरे । काठमाडौंमा लिग थिएन, एन्फाका बच्चाबच्ची ट्रेनिङ गराएर बसेका थिए ।
'तिमलाई छाड्नै मान्दैनन्, मेघराज गुरुनै चाहिन्छ भन्छन्,' थापाले फुर्काए पनि ।
यसपटक मेघराजले शर्त राखे– 'महिनाको २० दिन चितवन अनि १० काठमाडौंको घर जान दिनुपर्छ ।'
उनीहरू राजी भए ।
कुरा बाँकी रह्यो– पैसाको ।
माओवादीसँग कसरी पैसा माग्ने ? मेघराज सोच्न थाले ।
'भोलि के सोच्ने हुन् । कुरा मिलेसम्म गुरु गुरु, नमिलेको दिन त के हो के ?' उनको मनमा तर्कना पैदा हुन थाल्यो ।
तर, पैसाको राम्रो अफर गरे । मेघराज राजी भए । शक्तिखोरमा उनको राम्रै सत्कार भयो ।
मेघराज अहिले एकान्तमा सोचिबस्छन्– उनको काल करिअरकै स्वर्णकाल थियो । फुटबल जीवनको सबैभन्दा महत्त्वपुर्ण दिन तीनै थिए । उनले दुई वर्ष पीएलएसँग शिविरमा बिताए । दुई वर्ष फुटबल बाहेक केही सोचेनन् । एक हिसावमा फुटबलको तपस्या उनले त्यही गरे ।
धेरै ट्रायल गर्न पाए । विभागका खेलाडी अनुशासित थिए । सिक्न पाए, सिकाउन पाए । धेरै परिक्षण गर्न पाए । रणनीति बुन्ने कला त्यहीँ सिके ।
उनले पीएलएसँग पहिल्यै शर्त राखेका थिए– काठमाडौँमा लिग भएको खण्डमा जान दिनुपर्छ । उनीहरू त्यसमा राजी थिए ।
काठमाडौँमा लिग हुने भयो । उनको शिविर बसाइमा पूर्णविराम लाग्यो ।
एन्फामा ट्रेनिङ गराएका । पीएलको टिम हेरेको अनुभव उनीसँग थियो । तर काठमाडौं आएपछि उनलाई कसले पत्याउने ?
आफ्नै क्लब जावलाखेलसँग उनको अपेक्षा थियो तर क्लबले समेत पत्याएन ।
काठमाडौँ आएपछि पुनः दुर्दिन फर्किए । प्रशिक्षकबाट दर्शकमा ‘घटुवा’ प्रतीत भयो ।
काम नभए पनि एन्फाका बच्चालाई ट्रेनिङ गराउन छाडेनन् ।
लिग सुरु भएको डेढ महिला शुरू भएको थियो । उनको करिअरमा अर्को संयोगले बाटो बथान्यो ।
तिनताक धुव्र केसीले मछिन्द्र क्लब हेरेका थिए । पारिवारिक कारणले उनले क्लब हेर्न भ्याएनन् । मेघराजको थाप्लोमा आयो । केसीले मेघराजलाई जिम्मा लगाए । मेघराजको नेतृत्वमा मछिन्द्रले पाँचै म्याच खेल्यो र सबै जित्यो । व्यवसायीक प्रशिक्षकको रुपमा उनी भर्खरै बामे सर्दै थिए, राम्रा राम्रा टिमलाई माथ खुवाइरहेका थिए । तर छैटौँ म्याचको कथा अर्कौ बन्यो । उनले बाध्य भएर क्लब छाडे ।
मेघराजको फुटबलसँग एउटा विचत्रको सम्बन्ध छ ।
जब उनी ठूलो समस्या र पीडामा हुन्छन्, फुटबल मल्हम बनेर आइदिन्छ ।
मछिन्द्र क्लब छाडेर घरमा बसेका थिए । उनको भाउजूको असमायिक निधन हुन पुग्यो । परिवार शोकको आहालमा थियो । उनी दाजुसँग बसेका थिए ।
भाउजू दिवंगत भएको तीन दिनमात्र भएको थियो । ललितकृण्ण श्रेष्ठले मेघराजलाई फोन गरे र भने, 'थ्रीस्टार हेरिदिनु प्रायो ।'
उनी छक्क परे । भने, 'भाउजू बितेर शोकमा पो छु !'
'दुःख कसको जीवनमा आइपर्दैन र ! सबैलाई पर्छ । तर, काम भनेको काम हो,' ललितकृण्णले जोड गरे ।
त्यो समय थ्रीस्टार साच्चिकै सङकटमा थियो । प्रशिक्षक बालगोपाल महर्जनले सबै राष्ट्रिय खेलाडी लिएर मनाङ मर्स्याङ्दी गएका थिए । अर्का प्रशिक्षक उपेन्द्रमान सिंह बचेका खेलाडी बोकेर हिमालयन शेर्पा हान्निएका थिए ।
त्यो रिक्तता र शून्यका मेघराजका लागि ‘भाग्य’ होइन, ‘अहोभाग्य’ बन्यो ।
बाबु बितेको तीनदिनबाट फुटबलको करिअर स्टार्ट भएको मेघराजको जीवनमा त्यस्तै शोकले अर्को शक्तिको पुनरावृत्ति गर्यो ।
उनी जतिबेला क्लब प्रवेश गरे । त्यतिबेला थ्रीस्टारसँग न टिम थियो, न प्रशिक्षक । त्यसैकारण हुनुपर्छ ललितले मेघराजलाई बोलाएका थिए । उमेर पुगेका र भर्खरका खेलाडी समावेश गर्दै मेघराजले टिम बनाए । लगत्तै भारतको गुवाहाटी प्रतियोगिता खेल्न पुगे ।
गुवाहाटीमा थ्रीस्टार एक गोल नगरी फाइनल पुग्यो । लिगका तीनवटै म्याच गोलरहित बराबरीमा टुंगिएको थियो । सेमिफाइनल टाइब्रेकरमा जितेको थियो । तर फाइनलमा बंगलादेशको राम्रो क्लबसग थ्रीस्टारको अपारजित यात्रामा पूर्णविराम लाग्यो । क्लब हार्यो ।
काठमाडौं फर्किएलगत्तै क्लब ब्रिटिस गोर्खा कपको तयारीमा जुट्यो । करिब एक महिनाको अभ्यासपछि एन्फाका जुनियर र खेल्न छाडेका खेलाडी राखेर मेघराजले प्रतियोगितामा टिम तयार पारे । फाईनलमा प्रतिद्वन्द्वी थियो, मनाङ ।
तर, थ्रीस्टारले मनाङले माथ खुवाउदै ब्रिटिस गोर्खाकपको उपाधि चुमी छाड्यो ।
लगत्तै पोखरामा आहा रारा गोल्डकप शुरू भयो । सेमिफाइनलमा थ्रीस्टारले हिमालयन शेर्पालाई हरायो । हिमालयन शेर्पाले राम्रो फुटबल खेलेको थियो तर जित थ्रीस्टारकै पोल्टामा पर्यो ।
खेललगत्तै प्रशिक्षक उपेन्द्रमान सिंहले भनिहाले, 'हारे पनि थ्रीस्टारलाई फुटबल खेल्न सिकायौ ।'
भोलीपल्टै बिहानै थ्रीस्टारका अध्यक्ष ललितकृण्णले मेघराजलाई फोन गरे । ललितले आफूले दिएको अन्तरवार्ता पढ्न मेघराजलाई सुझाए ।
'हिमालयन शेर्पाका प्रशिक्षकले थ्रीस्टारलाई फुटबल खेल्न सिकायो । अब थ्रीस्टारको प्रशिक्षकले हिमालयन शेर्पाको प्रशिक्षकसँग सिकेर उपाधि जितेर आउँछ,' ललितले भनेका रहेछन् ।
उपाधि भिडन्तमा थ्रीस्टारको प्रतिद्वन्द्वी मनाङ पर्यो । मनाङको त्यहाँ पनि केही जोर चलेन । उपाधि थ्रीस्टारले नै लग्यो ।
लगत्तै मनाङले प्रशिक्षक बालगोपाललाई बर्खास्त गरिदियो । लगत्तै बुढासुब्बामा समेत थ्रीस्टारले मनाङलाई हरायो । करिब दुई वर्ष थ्रीस्टारमा उनले काम गरे । करिब ८ पटक मनाङ र थ्रीस्टार एकआपसमा भिडे । तर, थ्रीस्टारले एक खेल नगुमाइ मनाङलाई पाखा लगायो ।
दुई वर्षपछि छोटो समयकालागि उनी हिमालयन शेर्पा गए । हिमालयन शेर्पामा समेत मछिन्द्रको घटना दोहरियो । लगत्तै उनी हिमालयनबाट लोनमा फ्रेन्ड्स क्लब गए । फ्रेन्ड्स सुपर सिक्समा थियो र पुछारमा थियो । उनको नेतृत्वमा फ्रेन्ड्सले ५ खेलमा एक खेल गुमायो । हारेको उनकै पूर्वक्लब थ्री स्टारसँग थियो ।
फेरि केही वर्ष लिग प्रभावित बन्यो । आर्मीले प्रशिक्षकमा प्रस्ताब गर्यो । दुई वर्ष त्यहाँ पनि उनले काम गरे । १० वर्षदेखि एउटै उपाधि नजितेको आर्मीले दुई वर्षमा नेपालका ५० प्रतिशत बढी उपाधि एक्लै जित्यो । बाँकी उपाधि अरु क्लबले बाँडे ।
एउटा रमाइलो संयोग, मेघराज आर्मीमा रहुन्जेल मनाङ र थ्रीस्टारलाई एउटै म्याच जित्न दिएनन् । आर्मीलाई उनले लिगको उपाधि नजिक समेत पुरर्याएका थिए । तर दुई अंकले उपाधि गुमाउन बाध्य भए ।
एन्फाभित्र फेरि शक्ति संघर्ष शुरु भयो । घरेलु लिग फुटबल प्रभावित बन्यो । तर उनी बेरोजगार बन्न परेन । थ्रीस्टारसँग दोस्रोपटक गाँसिन आईपुगे । आर्मी छोडेका मेघराजलाई थ्रीस्टारले फोन गरेर पुनः बोलायाे । एएफसी कपको छनोट खेल्न मंगोलिया जान अनुरोध गरे । सबै खेलाडीले क्लब छाडेको अवस्था थियो, फेरि एक पटक सन्तुलित टिम बनाए । छनोट चरण पार पनि गरे । लगत्तै थ्रीस्टारले भारत गुवाहाटीमा बोद्रोलोई ट्रफी खेल्यो । ईस्ट बंगालजस्तो भारतीय आईलिग खेल्ने क्लबलाई हराएर थ्रीस्टारले उपाधि नै पोल्टामा पार्यो ।
एन्फासँगको विवादले थ्रीस्टारले डेढ बर्ष फुटबल खेल्न छाड्यो । समयसँगै फेरि फुटबल खेल्न फर्कियो । पुनः टिम बन्यो । लिगलाई भनेर १० महिना अगाडिदेखि नै थ्रीस्टार खेलाडीलाई अनुबन्धन गरेर राखेको थियो । फुटबलको यात्रामा उनी अ झपनि अनवरत रूपमा उही जोश, जाँगरका साथ लागि लागिरहेका छन् ।
दुइ दशक बढी समय खेलक्षेत्रमा बिताएका मेघराज फुटबललाई कसरी परिभाषित गर्छन त ? यो हाम्रो आखिरी जिज्ञासा थियो ।
'फुटबल यस्तो चिज हो, यहाँ गुमाउने चिज केही छैन । पाउने चिजमात्र छ । कति पाउने, के पाउने, सन्तुष्ट कसरी हुने त्यो अलग पाटो हो,' उनको उत्तर पनि भिन्नै छ ।
अन्तिममा मेघराजले के पाए त ?
'नपाएको चिज केही छैन । म अझै पाउनकालागि गरिहेको छु । फलको आश गर्न रोप्न पर्छ, म अहिले पनि रोपिरहेको छु,' उनी भन्छन्, 'देशको प्रतिनिधित्व गरेर धेरै देश घुमे । देशभरबाट माया र स्नेह पाइरहेको छु । फुटबलको विषयमा बोल्न पाइरहेको छु । खेलको माहोल पाएको छु । जता गएनि फुटबलको परिवार मात्र भेट्छु,' हाँस्दै सुनाउँछन् ।
उनी भन्छन्, 'हरेक मानिस द्रव्यसँग जिन्दगीलाई जोड्छ । त्यो मानिसलाई चाहिन्छ तर त्यो साध्य होइन । द्रव्यको कुनै सीमितता छैन । मान्छे कहिल्यै सन्तुष्ट हुदैन । सन्तुष्ट नहुने कामको आश गरेर कोही खुसी हुन सक्दैन ।'
एउटा नेपाली उखान छ– मान्छेले मरेर के लान्छ र ? तर मेघराज मेरेर केही लान्छु भनेर बसेका छन् ।
'धेरैले मरेर के लाग्छ, लान पाउदैन भन्छन् । तर धेरै मानिसले मरेर पनि लगेर गएका छन्,' उनी भन्छन्, 'हो, म त्यही मरेर लाने चिज हेरेर बसेको छु । हेरौँ के के लिन पाइन्छ ।'
शायद नेपाली फुटबल पारखीको अपार माया पो हो कि !