काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि मंगलबार ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले भोलि पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो ।
नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ ।
पछिल्लो तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।
नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।
त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो । यस्तै २०१५ मा युएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।
त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका :
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ (भदौ २८ ) गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ (भदौ २९) गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ (असोज ३) गते खेल्नेछ ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
सिरिजका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् ।
नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार
मुख्य प्रशिक्षक - डेभ वाटमोर
व्यवस्थापक - मोहमद दाउद अन्सारी
टेक्निकल एनालिस्ट - रमण शिवाकोटी
फिजियो - बिक्रम न्यौपाने
ट्रेनर - राकेश गोहिल