काठमाडौं । भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
दोर्जीले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन् ।
ललितपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै दोर्जीलाई अनुबन्ध गरिएको जनाएको छ ।
दोस्रो विदेशी खेलाडीको रुपमा ललितपुरले दोर्जीलाई अनुबन्ध गरेको हो ।
यस अघि इंग्ल्यान्डका क्रिकेटर एलेक्स ब्लाकेलाई अनुबन्ध गरेको थियो ।
दोर्जी ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी हुन् ।
'साविक विजेता ललितपुरबाट खेल्न पाउँदा उत्साहित छु । मलाई अवसर दिनु भएकोमा धन्यवाद । नेपालको समर्थकको भिडमा खेल्न पाउनु गर्वको कुरा हो,' उनले भनेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।