काठमाडौं । खेलपाटी अहिले नेपाल र भारतबीच राष्ट्रिय टिमले खेलेका खेलको इतिहास पस्कने प्रयासमा छ ।
पहिलो भागमा सन् अस्सीमा खेलिएका तीन खेलका चर्चा गरेका थियौं, अब हामी सन् नब्बेतिर लाग्नेछौं । यो समय अवधिमा यी दुई टिमबीच पाँच खेल भएका छन् । त्यसमध्ये यस इतिहास शृंखलाको दोस्रो भागमा दुई खेलको मात्र चर्चा गर्नेछौं ।
यी दुई खेलमध्ये पनि एउटा खेल कति धेरै महत्त्वपूर्ण छ भने त्यसको बारम्बार चर्चा हुने गर्छ र यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक सफलता पनि भनिन्छ ।
त्यो भनेको सन् १९९३ मा बंगलादेशमा भएको छैटौं दक्षिण एसियाली खेलकुद । त्यसमा भारतमाथि प्राप्त जितले नेपाली फुटबललाई सधैं प्रेरित गरिरहनेछ ।
४. सन् १९९३ जुलाई १९, लाहोर
सन् १९९३ मा पाकिस्तानले पहिलो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो । त्यो साफ च्याम्पियनसिप हुन अगाडिको प्रतियोगिता हो ।
त्यसमा पाँच टिमको सहभागिता थियो, देश भने चार । पाकिस्तानले दुई टिम उतारेको थियो । त्यसमध्ये एक टिम राष्ट्रिय टिम नै थियो । अर्को टिमको पाकिस्तान ह्वाइट थियो । यसले खेलेको खेल भने गणना गरिएन् ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगितामा भारतले नेपाललाई १–० ले हरायो र गोल गर्ने खेलाडी थिए, आईएम बिजयेन ।
५. सन् १९९३ डिसेम्बर २६, ढाका
यही दिन त भएको थियो, नेपाली फुटबलले सधैं सम्झिने खेल । बंगलादेशी राजधानी ढाकाले दोस्रो पल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो र त्यसको पुरुष फाइनलमा प्रवेश गरेका दुई टिम थिए, नेपाल र भारत ।
यस खेलमा नेपालले टाइब्रेकरमा खेल जितेको थियो, ४–३ को स्कोरले । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्यसमै नेपालले पेनाल्टीमा ऐतिहासिक सफलता चुमेको थियो । यो सफलता किन पनि विशेष रह्यो भने यस संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको यही एक मात्र स्वर्ण पदक हो ।
फाइनलमा नेपाल पराजित भएको भए, नेपाल स्वर्ण पदक विहीन हुने थियो । खेलमा भने नेपालले उत्कृष्ट पुर्नआगमन रचेको थियो ।
एक गोलले पछाडि रहेको स्थितिमा सबैभन्द पहिलो उमेश प्रधानले गोल गरे । फेरि खेल १–२ ले पछाडि परेको स्थितिमा मणि शाहले फ्रि– किकमा शानदार गोल गरे र खेल बराबरी भयो ।
नेपाल फुटबलमा भारतीय टिममाथि हात पारेको यो नै पहिलो जित हो । नेपालले फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो । अझ विदेशी भूमिमा नेपाली राष्ट्रिय टिमले चुमेको यो पहिलो सफलता पनि हो ।
यो पनि .......
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)