काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भारतीय फुटबल टिम अर्को साता काठमाडौं आउँदैछ । नेपाल र भारत सबैभन्दा नजिकका छिमेकी हुन्, तर पहिलो पल्ट भारतीय टिम मैत्रीपूर्ण खेल खेल्ने काठमाडौं आउन लागेको हो । त्यसैले यो भ्रमण आफैमा ऐतिहासिक हुनेछ । ठीक यहाँनिर एउटा प्रश्न स्वभाविक छ, यी दुई टिमबीच अहिलेसम्म भएका खेलका इतिहास भने आफैमा कस्तो छ त ?
खेलपाटीले त्यही इतिहास पल्टाउने प्रयासमा छ र हामी सात भागमा त्यसबारे सक्दो लेख्न प्रयासमा छौं । त्यसको पहिलो भागमा हामी नेपाल र भारतबीचका सुरुआती तीन खेलको चर्चा गर्नेछौं र यसका लागि सन् अस्सीको दशक फर्कनु पर्ने हुन्छ । यी तीनै खेलको एउटै विशेषता हो, यी खेल दक्षिण एसियाली खेलकुदले जुराएका हुन् ।
१. सन् १९८५ डिसेम्बर ३१, ढाका
नेपाल र भारतबीचको पहिलो मान्यता प्राप्त औपचारिक खेल भएको थियो, बंगलादेशको ढाकामा । बंगबन्धु रंगशालामा भएको त्यस खेल दोस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत भएको थियो । त्यसमा नेपालले सुखद सुरुआत लिन सकेन् र अन्तत: भारत २–० ले विजयी रह्यो । यसअघिका दुई उमेर समूहका मान्यता प्राप्त खेलमा नेपालले भारतलाई लगातार हराएको थियो । तर राष्ट्रिय टिमले खेल्दा नेपालले त्यसलाई दोहराउन सकेन् ।
२. सन् १९८७ डिसेम्बर २३, कोलकाता
नेपाल र भारतबीचको दोस्रो खेल तेस्रो दक्षिण एसियाली खेलकुदका लागि भएको थियो र यो विशेष पनि थियो । किनभने यो पुरुष फुटबलको फाइनल थियो र यो खेललाई हेर्न केही नभएर पनि एक लाख भन्दा बढी दर्शक प्रसिद्ध साल्टलेक स्टेडियममा जम्मा भएका थिए । यसमा पनि भारत १–० ले विजयी रह्यो र स्वर्ण पदक चुम्न सफल रह्यो । नेपालले भने रजत पदकमै चित्त बुझाउन बाध्य रह्यो । यो खेल किन पनि ऐतिहासिक छ भने टेलिभिजनमा प्रतक्ष्य प्रशारण भएको यो नै पहिलो प्रतिस्पर्धा थियो ।
३. सन् १९८९ अक्टोबर २३, इस्लामावाद
नेपालले सुरुआती तीन संस्करणका दक्षिण एसियाली फुटबलको पुरुष फुटबलमा कुनै न कुनै पदक जितेको थियो, तर चौथो संस्करण आइपुग्दा त्यसमा पूर्ण विराम लाग्यो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई २–१ ले हरायो र नेपाल कांस्य पदक पनि जित्न सकेन् । यसरी नेपालले भारतविरुद्धका सुरुआती तीन खेलमा पनि लगातार हार बेहोर्यो । तर कम्तीमा नेपालले भारतविरुद्ध पहिलो ऐतिहासिक गोल भने निकाल्न सफल रह्यो र नेपालका यी नायक खेलाडी थिए, मणि शाह ।