काठमाडौं । भारतीय ब्याट्सम्यान अजिन्के रहानेले पछिल्लो समय लय गुमाएका छन्, त्यसैले उनको चर्को आलोचना भइरहेको छ । तर उनी मान्छन्, यो आलोचना उनका लागि सुझाव हो । सन् २०२१ मा रहानेका लागि ठूल ठूला स्कोर हराए जस्तै भएको छ । त्यसैले भारतीय टिममा उप–कप्तानको स्थानलाई लिएर पनि प्रश्न उठेका छन् ।
इंग्ल्यान्ड र भारतबीच अहिले चलिरहेको टेस्ट सिरिजको तेस्रो खेल भोलि बुधबारबाट सुरु हुँदैछ र सबैको सुक्ष्म नजर उनमै छ । पछिल्ला १५ इनिङ्समा उनले खालि दुई अर्ध शतक बनाएका छन् । त्यसमध्ये दोस्रो अर्धशतक पछिल्लो साताको लर्डस टेस्टमै थियो, त्यो पनि दोस्रो इनिङ्समा । पाँचौं तथा अन्तिम दिन उनले निर्णायक सावित ६१ रन बनाएका थिए ।
त्यसले भारतको सनसनीपूर्ण जितको आधार तयार पारेको थियो । लिड्समा सुरु हुने तेस्रो टेस्ट अगाडि रहाने इंग्लिस मिडियासामु पेस भए र र उनले भने, ‘मेरोबारे कुरा भइरहेको छ, त्यसमा कुनै गुनासो छैन् । यस्ता आलोचनाले मलाई अझ राम्रो खेल्ने प्ररित गर्छ । म आलोचनाको विरोधमा उत्रिने खालको होइन् ।’
रहाने मात्र होइनन्, भारतीय टिमका अर्का प्रमुख खेलाडी चेतेश्वर पुजारा पनि खराल लयबाट गुज्रिरहेका छन् । पुजाराले पनि लर्डसमा चौथो दिन कठिन परिस्थितिमा ४५ रन बनाए । रहानेले आफ्ना साथी खेलाडीबारे पनि बोले । उनको भनाइ थियो, ‘पुजारा र मैले सँगै खेलिरहेको धेरै भयो, दबाबबीच कसरी खेल्ने हामीलाई थाहा छ ।’
उनले थपेका छन्, ‘हामी एक अर्कालाई सहयोग गर्छौ, समर्थन पनि गर्छौ । मैले उनलाई आफ्नो खेलमा मात्र ध्यान दिन भनेको छुं । उनले कसरी आफ्नो खेललाई अगाडि बढाउने हो, त्यो नितान्त उनको शैली हो । उनी केही सुस्त खेल्ने गर्छन्, तर यस्तै प्रदर्शन हाम्रो लागि निकै उपयोगी सावित भइरहेको छ ।’
–एएफपीको सहयोगमा ।