काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) ओमान प्रस्थान गर्दै छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ ।
ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन ।
सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार