काठमाडौं । प्रशिक्षक र पत्रकारबीच अस्ट्रेलियातिर पनि झगडा हुने रहेछ । आखिरमा पत्रकारले प्रशिक्षकको रणनीतिबारे त प्रश्न गर्न पाउने हुन्छ नै । भलै पत्रकारले प्रशिक्षकको नीजि बानी बेहोराबारे प्रश्न नगरे राम्रो । जे होस, अस्ट्रेलियाली क्रिकेट प्रशिक्षक जस्टिन ल्यान्गर र पत्रकारबीच बंगलादेशमा झगडाको स्थिति बनेको रहेछ ।
भएको के भन्दा अस्ट्रेलिया बंगलादेशविरुद्धको ट्वान्टी ट्वान्टी सिरिजमा नराम्रोसँग पराजित भयो । एकसेएक खेलाडी भएको अस्ट्रेलियाले बंगलादेशविरुद्ध पाँच ट्वान्टी ट्वान्टीको सिरिज ४–१ ले गुमाएको थियो । यस्तोमा ल्यान्गरबारे प्रश्न उठाउनु स्वभाविक नै हो । अब यो स्थिति प्रश्नमै मात्र सीमित रहेन्, धेरैले ल्यान्गरको योग्यतामै समेत प्रश्न उठाउन थालेका छन् ।
अस्ट्रेलियाका पूर्व प्रारम्भिक ब्याट्सम्यान समेत रहेका ल्यान्गरले जसरी टिम सम्हालिरहेका छन्, त्यो भएन् भन्ने धेरै छन् । भनिन्छ, ल्यान्गर पुरानो स्कुलका हेडमास्टर जस्तै छन्, विद्यार्थीलाई पिट्ने खालका । उनकै समयका केही पुराना खेलाडी नै यसरी असन्तोष पोख्नेमा अगाडि छन् । अबको केही महिना दिनपछि इंग्ल्यान्डविरुद्ध एसेज सिरिज पनि हुनेछ ।
त्यस अगाडि ट्वान्टी ट्वान्टी विश्वकप पनि खेल्नेछ । त्यसैले ल्यान्गरलाई हटाउने हो कि भनेर समेत कुरा आइरहेको छ । तर उनको बचाउमा कोही नभएका पनि होइनन् । जस्तो, क्रिकेट अस्ट्रेलिया प्रमुख निक हकली । उनी कम्तीमा ल्यान्गरको योग्यतामै शंका नगर्न अनुरोध गर्छन् । तर शंका भने भइरहेकै छ । जति बेला टिम हार्न थाल्छ, यस्तै हुन्छ ।
–एएफपीको सहयोगमा ।