काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
लोकतान्त्रिकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै पारालिम्पिक टोलीलाई बिदाइ गरेको हो ।
प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गर्दै बिदाइ गरे ।
टोलीलाई शुभकामना दिदै बस्नेतले नेपाली काँग्रेस खेलाडीहरुको पक्षमा सदा अग्रस्थानमा रहने भन्दै पदक जितेर आएको खण्डमा खेलकुद विभागले न्यायोचित सम्मान गर्ने बताए ।
बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले टिमलाई सफलताको शुभकामना दिदै प्रत्येक चरणको खेल जित्दा नगद २० हजार प्रदान गर्ने र पदक प्राप्त गरेको खण्डमा कास्यलाई ५० हजार, रजतलाई १ लाख र स्वर्णलाई १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरे ।
पारालिम्पिक टोली शुक्रबार जापान प्रस्थान गर्ने छन् । पारालिम्पिकमा १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् ।
अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।