काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा पाकिस्तानका बलर यासिर शाहले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
सीपीएल टिम ट्रीनबागो नाइट राइडर्सले सन्दीपको स्थानमा यासिरलाई अनुबन्ध गरेको हो ।
नेपाली राष्ट्रिय टिममा व्यस्त हुने भएको कारण सन्दीपले सीपीएल गुमाउने भएका हुन् ।
सन्दीपको सहभागिता नभएपछि ट्रीनबागोले पाकिस्तानी बलरलाई अनुबन्ध गरेको क्रिकइन्फोले जनाएको छ ।
यस्तै ट्रीनबागोले सिकन्दर राजाको स्थानमा टिम सिफर्टलाई अनुबन्ध गरेको छ ।
सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।
तर, सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने भएपछि सन्दीपले सीपीएल गुमाउने भएका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।
सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।
सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए ।
त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।