काठमाडौं । नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै संघले पारालिम्पिक टोलीलाई बिदाइ गरेको हो ।
पारालिम्पिक टोली शुक्रबार जापान प्रस्थान गर्ने छन् । पारालिम्पिकमा १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् ।
अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।
संघका अध्यक्ष प्रकाश शम्शेर राणाले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका थिए ।
बिदाइको अवसरमा ललितपुर धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप २५ हजार प्रदान गरेका थिए ।