काठमाडौं । क्रिकेटका प्रशंसकहरूले भारतद्वारा इंग्ल्यान्डमाथि लर्डसमा प्राप्त दोस्रो टेस्टको जितलाई पछिसम्म पनि सम्झिने तय छ । अन्तिम दिन सुरु हुन अगाडिसम्म कहाँ भारत हारको संघारमा थियो, तर त्यही दिनको अन्त्यमा यही टिम विजयी रह्यो । यससँगै भारतले पाँच टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ ।
लर्डसलाई ‘होम अफ क्रिकेट’ भनिन्छ, यस मैदानमा भारतको यो अहिलेसम्मकै तेस्रो दुर्लभ जित मात्र हो । कसरी भारतले यो सनसनीपूर्ण जित निकाल्यो त ? यसको उत्तर दिने प्रयास गरेका छन्, कप्तान विराट कोहलीले । उनको तर्क छ, ‘सबैले हाम्रो खालि आलोचना मात्र गरिरहेका थिए, विशेषत: कमेन्ट्री गरिरहेकाहरूले । आखिरमा धेरै आलोचनाले राम्रो खेल्ने प्रेरणा मिल्यो ।’
क्रिकेटका पण्डितहरू भनिरहेका थिए, भारतको तल्लोक्रमका ब्याट्सम्यानले रन नै जोड्न सक्दैन् । तर होइन रहेछ । मोहसम्मद सामीले ५६ र जसप्रित बुमराहले ३४ रन बनाए । उनीहरू दुवै नटआउट रहे । अनि दुवैले आफ्नो खेल जीवनमा उच्च स्कोर पनि जोडे । उनीहरूले नवौं विकेटका लागि नटआउट ८९ रनको साझेदारी गरेका थिए, जुन कीर्तिमान पनि थियो ।
यस्तोमा भारतले आठ विकेटमा २ सय ९८ रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गर्न सफल रह्यो । यसैले त हो, भारतको जितको आधार तय गरेको । पछि भारतको बलिङ पनि धारिलो रह्यो । मोहम्मद सिराजले ३२ रनमा चार विकेट लिए । उनले इंग्ल्यान्डका ११ नम्बर ब्याट्सम्यान जेम्स एन्डरसनलाई आउट गरेपछि भारतको जित निश्चित भएको थियो ।
कोहलीले भनेका छन्, ‘भारतले प्राप्त गरेका जितमध्ये यो एक उत्कृष्ट प्रदर्शनका रूपमा रहनेछ । अन्तिम दिन यसरी जित निकाल्न सक्नु आफैमा ठूलो हो । हाम्रो प्रदर्शन खासमै उत्कृष्ट रह्यो । बलरलाई पिचले मदत गरिरहेको थिएन, तर पनि बलरले निकै मिहिनेत गरे ।’ उनका समकक्षी कप्तान जोए रुट के भन्छन् त ? उनको प्रतिक्रिया थियो, ‘हाम्रो त रणनीति नै असफल भयो ।’
–बीबीसीको सहयोगमा ।