काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब वृद्धि गरिएको छ ।
ईपीएलले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।
कोरोना महामारीको कारण खेलाडीले व्यहोरेको कठिनाईलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाईएको ईपीएलले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो ।
चितवन टाइगर्सका मालिक किशोर भट्टराईले खेलाडीको तलब बढाउन सबै टिम सहमत भएको बताए ।
'कोरोनाको कारण खेलाडीहरु खेलबाट बन्चित थिए । उनीहरुले व्यवसायिक लिग खेल्ने अवसर र कमाई गुमाए । त्यसैले हामीले नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गर्न सहमत भएका छौँ,' उनले भनेका छन् ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले तलब बढाउन सहमत बनेकोमा टिमलाई धन्यवाद दिएका छन् ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले फ्रेन्चाइज टिमको निर्णयको प्रशंसा गरेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।