काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा सामान्य अग्रता बनाएको छ ।
लर्ड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले २७ रनको अग्रता बनाएको छ ।
कप्तान जोए रुटको शतक बाबजुत पहिलो इनिङ्समा इंग्ल्यान्ड ३ सय ९१ रनमा अलआउट भएको छ । र, इंग्ल्यान्डले सामान्य अग्रता बनाएको छ ।
पहिलो इनिङ्समा इंग्ल्यान्डका कप्तान रुट १ सय ८० रनमा अविजित रहे । उनले टेस्ट क्रिकेटमा ९ हजार रनको कोशेढुंगा समेत पूरा गरेका छन् ।
यस्तै जोनी बेयर्स्टोले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोरी ब्रुन्स ४९ रन बनाए । मोइन अलि २७ र जोस बट्लर २३ रनमा आउट भए ।
भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । मोहमद शामीको नाममा २ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो ।
भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले
रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए ।
रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । मार्क उड र ओली रोबिनसनले २/२ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।