काठमाडौं । सबै खेलाडी उत्तिकै भाग्यमानी हुँदैनन् । खेलाडी राम्रो भएर मात्र हुन्न, भाग्य पनि चाहिने रहेछ । यसको सबैभन्दा राम्रो उदाहरण हो, भारतीय क्रिकेट खेलाडी उन्मुक्त चन्द । कुनै समय उनलाई भारतीय क्रिकेटको नयाँ सचिन तेन्दुलकर भनिएको थियो, अहिले तिनै खेलाडीले २८ वर्षको उमेरमा भारतीय क्रिकेटबाट सन्यास लिएका छन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईको खेलाडीका रूपमा रहने हो भने उनले विदेशमा खेल्न पाउँदैन् । यस्तोमा एउटै उपाय भनेको बीसीसीआईसँगको सम्बन्ध तोड्ने र सन्यास लिनै हो । उन्मुक्तले पनि यही बाटो रोजे । अब उनी अमेरिकातिर लाग्नेछन् र त्यहाँको मेजर क्रिकेट लिगमा खेल्नेछन् ।
यति धेरै चर्चा गरिसकेपछि उन्मुक्तलाई किन यति धेरै महत्त्व दिएको भन्ने हुन सक्छ । खासमा उनी त्यस्तै खेलाडी हुन् । भारतले सन् २०१२ मा यू–१९ विश्वकप जित्दाका कप्तान हुन्, उनी । उनले त्यस प्रतियोगितमा निकै उत्कृष्ट प्रदर्शन गरे । अष्ट्रेलियाविरुद्धको फाइनलमा उनले शतक पनि बनाए र सबैले उनको प्रशंसक बने ।
युवा विश्वकप जितेर फर्केपछि सबैले उनलाई भारतीय क्रिकेटको भविष्य भन्न थालेको थियो । तर दु:ख कस्तो भने उनले कहिले पनि भारतका लागि खेन पाएनन् । न त टेस्ट, न वान डे, न ट्वान्टी ट्वान्टी नै । भारतमा आफ्नो फिटिक्कै भविष्य नदेखेपछि उनी बाध्य भएर अमेरिका लागेका हुन् ।
भारतीय क्रिकेटबाट सन्यास लिएपछि उनले भनेका छन्, ‘भारतका लागि कहिले पनि खेल्न नपाएको दु:ख मेरो मनमा सधैं रहनेछ ।’ सन् २००८ को यू–१९ विश्वकप पनि भारतले नै जितेको थियो र टिमका कप्तान थिए, विराट कोहली । भाग्यकै खेल भनौं न, अहिले कोहली कहाँ छन्, उन्मुक्त कहाँ छन् ।