काठमाडौं । क्रिकेटमा आफूले सामना गरेको पहिलो बलमै आउट भइन्छ भने त्यो साह्रै नमज्जाको हुन्छ । अझ त्यो टेस्ट क्रिकेट हुनु पर्छ, पहिलो बलमा आउट हुनको पीडा भनिनसक्नु हुन्छ । यसलाई त भन्ने गरिन्छ, ‘गोल्डन डक’ । इंग्लिस ब्याट्सम्यान हसिब हमिदलाई सोध्नु पर्छ, उनले पनि भन्ने छन्, ‘गोल्डन डक’ ले कति धेरै स्थितिलाई किरकिरा बनाउने गर्छ भनेर ।
अहिले इंग्ल्यान्ड र भारतबीच लर्डसमा दोस्रो टेस्ट चलिरहेको छ । त्यसको दोस्रो दिन शुक्रबार लामो समयपछि इंग्लिस टिममा फर्केका मध्यक्रममा यी ब्याट्सम्यान हमिद आफूले सामना गरेको पहिलो बलमै बोल्ड भए र शिकार भए, ‘गोल्डन डक’ को । बलर थिए, मोहम्मद सिराज । हमिद खुरुखुरु पिचमा आइपुगे, अनि लुखुरलुखुर पेभिलियन फर्के ।
सन् २०१६ मा भारतकै विरुद्ध डेब्यु गरेका हमिदलाई जेफरी ब्वाय्कट भन्ने गरिन्थ्यो । भारतविरुद्ध उनले त्यति बेला राम्रो पनि खेले । पछि नराम्रोसँग लय गुमाएर र टिमबाट बाहिर फ्यालिए । अहिलेको सिजन उनले केही राम्रो गरेका छन् र त्यही कारण टिममा परे । तर उनी नै ‘गोल्डन डक’ को शिकार बने ।
उनको यो प्रदर्शनपछि क्रिकेटका तथ्यांक पण्डितहरूले खोज्न सुरु गरे, टेस्ट क्रिकेटमा अहिलेसम्म कति जना ‘गोल्डन डक’ को शिकार भएका छन् त ? उत्तर आयो, १ हजार ६ सय ५५ जना ।
खासमा ‘गोल्डन डक’ ब्याट्सम्यानका लागि लज्जाको विषय पनि हो । सायद यो सबै बिर्सेर हमिदले इंग्ल्यान्डको दोस्रो इनिङ्समा राम्रो गर्ने प्रयास गर्नेछन् ।
–बीबीसीको सहयोगमा